२०८२ जेष्ठ ५ गते सोमवार

सरकार आएन, जेसिजले दियो राहत : आगलागी पिडित

दाङ, २२ चैत । अन्य दिन झैँ गत चैत १९ गते मंगलबार दिउँसो पनि पर्शुराम थापाको परिवार घरमा बालबालिका छोडेर काममा निस्केको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ बल्ले निवासी थापाको दुई वटा घर मध्ये एउटा घरमा छोरा बुहारी बस्थे । अनि अर्को घरमा थियो उहाँको परिवार । जुन जस्ताको छानो छ ।

उहाँको परिवार छोराबुहारी र नातीसहित सात जनाको छ । साना बालबालिकालाई घरमा छोडेर काममा निस्केका थापा परिवारले मंगलबार साँझ घरमा फर्कदा दुई मध्ये एउटा फुसले छाएको घर सकुशल पाउन सकेन । भित्तालो जमिन । माथितिर जंगल छ । तलतिर साना बारी छन् । बिचमा थिए दुई वटा घर । ति मध्ये एउटा जलेर खरानी भएको छ ।

थापाका अनुसार त्यसदिन घर परिवार काममा निस्केको समयमा घरमा रहेका बालबालिकाले घर नजिकै राखेको खरमा आगो लगाए । त्यसपछि त्यो आगो छिनभरमै घरमा सल्कियो । त्यहि घरमा गाइगोरु पनि थिए भने पाँच घार मौरी पनि थिए । तर आगोले छिनभरमै ति सबै सखाप बनायो ।

आगोले एउटा गोरु र एउटा गाइ मरेको पिडित परिवारले जनाएको छ । अरु चार गाइगोरु जलेर घाइते भएका छन् । आगोले गाइगोरुको छाला लगभग पुरै जलेको अवस्थामा हुँदा पनि उपचार हुन सकेको छैन् ।

‘आगोले जलेका गाइगोरुको उपचार हुन सकेको छैन् ।’ पिडित थापाले भन्नुभयो–‘तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखामा जानकारी गराउँदा पनि मलम समेत पाउन सकेका छैनौँ ।’

गर्मीयाम भएका कारणले घाइते गाइगोरुको अवस्था झन्‌पछि झन् दर्दनाक बनिरहेको छ । जलेर घाइते भएका गाइगोरुले राम्रोसंग घाँसपानी समेत खान नसक्ने अवस्था रहेको पिडित थापाले बताउनुभयो ।

घरमा बालबालिका मात्रै भएका कारणले ठुलो क्षति बेहार्नु परेको उहाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट ३ लाख बढीको क्षति भएको छ । ‘आगो लागेपछि बालबालिका भागेछन्, गाइगोरु त बाँधिएको अवस्थामा हुँदा जले ।’ उहाँले भन्नुभयो–‘समयमै आगो निभाउन नपाएको भए थप अरु क्षति हुने थियो, गाउँलेको सहयोगमा आगो नियन्त्रणमा लिएका थियौँ ।’

आगलागी भएको चार दिन बढी हुँदा पनि स्थानीय सरकारले कुनै वास्ता नगरेको उहाँले गुनासो गर्नुभयो । ‘वडामा गएर जानकारी गराएका छौँ, अहिलेसम्म केहि राहत पाएका छैनौँ ।’ उहाँले भन्नुभयो–‘तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा जानकारी गराउँदा जिल्ला प्रशासनबाट राहत आउने आश्वासनमात्र पाएका छौँ, राहत पाएका छैनौँ ।’

शुक्रबार राहत लिएर तुलसीपुर नगर जेसिज पुग्दा उहाँले केहि राहतको महशुस गर्नुभयो । जेसिजले आगलागी पिडित पर्शुराम थापाको परिवारलाई राहत वितरण गरेको छ । आगलागी पिडित थापाको परिवारलाई जेसिजले शुक्रबार घरमै पुगेर नगद १५ हजारसहित खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो ।

जेसिजले दैनिक उपभोग्य चामल, दाल, तेल लगायतका खाद्यान्नका सामग्रि र लत्ता कपडा वितरण गरेको तुलसीपुर नगर जेसिज वर्ष २०२५ का अध्यक्ष सन्दीप भुषालले बताउनुभयो । उहाँले पिडित परिवारलाई थप तीन महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरिने बताउनुभयो । यसैगरी छानोका लागि टिन दिन पहल गर्ने बताउनुभयो ।

पूर्व अध्यक्ष झरेन्द्र खरेलले जेसिजले सानो भएपनि पिडितलाई राहत महशुस हुने गरी सहयोग गरेको बताउनुभयो । उहाँले सामाजिक कार्यमा जेसिज सधै अग्रपंक्तिमा रहेको बताउँदै बालबालिकाका लागि व्यक्तिगतरुपमा शैक्षिक सामग्रि सहयोग गर्ने बताउनुभयो ।

यस्तै पूर्व अध्यक्ष मोहन स्वर्णकारले पिडित परिवारलाई आवश्यक कपडा सहयोग गरिने बताउनुभयो । उहाँले शनिबार चैते दशैँ पनि भएको हुँदा पिडितलाई केहि भएपनि राहत होस् भनेर राहत वितरण गरिएको बताउनुभयो ।

यस्तै दिपेश भण्डारी, केशवराज न्यौपाने लगायतले थप सहयोगका पहल गरिने बताउनुभयो । आगलागी पिडितको घरमै पुगेर राहत वितरण गरिएको महासचिव बुद्धि सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस