
दाङ, १८ चैत । गुरुकुल एकेडेमी, घोराहीमा कक्षा १० का विद्यार्थीहरूको कन्भोकेसन तथा बिदाइ कार्यक्रम गरिएको छ । विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सहायक प्रोफेसर डा. बिता विश्वकर्माले विद्यार्थीहरूलाई शुभकामना दिँदै शिक्षा, परिश्रम र इमानदारीको महत्त्वबारे मार्गदर्शन गर्नुभयो ।
उहाँले विद्यार्थीहरूको समर्पणको सराहना गर्दै कक्षा ११ र १२ को तयारीका लागि प्रेरित गर्नुभयो । कार्यक्रमको मुख्य आकर्षण कन्भोकेसन समारोह रहेको थियो । त्यस अवसरमा कक्षा १० का विद्यार्थीहरूलाई प्रमाणपत्र तथा उपाधि प्रदान गरिएको छ ।
बिदाइको भावुक क्षणमा शिक्षक तथा विद्यार्थीहरूको आँखामा उत्साह र संवेदनशीलता झल्किएको थियो ।
विद्यालयका शिक्षक अर्बिन्द अधिकारीले विद्यार्थीहरूको संघर्ष र सफलताको चर्चा गर्दै भविष्यका चुनौतीहरूप्रति सचेत गराउनुभयो ।
शिक्षकहरू ई. सन्तोष कुमार कसौधन, परीक्षा संयोजक विवेक देवकोटा, प्लस टु संयोजक राजन अधिकारी र सह–प्रधानाध्यापक महेन्द्र पौडेलले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।
विद्यार्थीहरूले विद्यालयका गतिविधिहरूमा आफ्नो अनुभव साझा गर्दै शिक्षकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । कार्यक्रममा साङ्गीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
विद्यालय संयोजक भुवन आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आइएसए संयोजक तथा शिक्षक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको हो ।
कार्यक्रम व्यवस्थापक शिक्षक विवेक देवकोटाले यस कार्यक्रमले विद्यार्थीहरूको मेहनत, विद्यालयको शिक्षण प्रणाली र उज्ज्वल भविष्यको प्रतिबिम्ब प्रस्तुत गरेको बताउनुभयो ।