२०८२ जेष्ठ २९ गते बिहिवार

राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न निर्देशन

 काठमाडौँ, १७ चैत । संसदीय समितिले शुक्रवार काठमाण्डाैको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीको प्रदर्शनबाट भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

समितिको तर्फबाट सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखी तयारी अवस्थामा रहन सरकारलाई निर्देशन दिनुभयो ।

त्यस्तै समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस