२०८३ साउन १२ गते मङ्गलवार

‘घर परिवारले असल संस्कार सिकाउनुपर्छ ’


दाङ, १६ चैत । बालबालिकालाई सभ्य र नैतिकवान बनाउन घरपरिवारले नै असल संस्कार दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

दाङ भ्याली मावि तुलसीपुर र रेडियो हाम्रो पहुँचले तुलसीपुर–१२ मा संयुक्त रुपमा आयोजना गरेको सुनौलो भविष्य नामक कार्यक्रममा सरोकारवालाले बालबालिकालाई घरपरिवारले असल संस्कार दिनसके मात्रै भोलिको सुन्दर समाजको परिकल्पना साकार हुने बताएका छन् ।

कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले हरेक अभिभावकले बालबालिकालाई घरमा असल संस्कार दिनसकेमा दक्ष र नैतिकवान जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो ।

बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि विद्यालयसंगै घर परिवार र समाजको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले घरमा अभिभावक र समाजले पनि असल संस्कार दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले टोलका हरेक बैठकमा बालबालिकालाई पनि समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ । बालबालिकालकालाई निर्णय प्रक्रियामा सहभागी गराउँदा उनिहरुको ज्ञान थप वृद्धि हुने र गलतबाटोमा लाग्नबाट बचाउन सकिने उहाँको भनाई छ ।

कार्यक्रममा राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष भीमबहादुर भण्डारी, पृथ्वी टोल विकास संस्थाका संस्थापक अध्यक्ष भीमप्रसाद भण्डारी, समाजसेवी हरि अधिकारी, डम्बर केसी, गंगाधर पौडेल, नवराज वली लगायतले बालबालिकाले धेरै कुरा घरबाटै सिक्ने भएकाले घरमा नै असल संस्कार सिकाउनुपर्ने बताउनुभयो ।

अभिभावक सचेतनाका लागि कार्यक्रमको महत्व धेरै रहेको सहभागीको जोड रहेको थियो । बालबालिकालाई असल र नैतिकवान बनाउन अभिभावकलाई सचेतना दिने उद्देश्यले कार्यक्रम सुनौलो भविष्यको परिकल्पना गरिएको हो । कार्यक्रम विभिन्न टोलमा गएर अभिभावकसंग अन्तरक्रिया गरेर तयार पार्ने गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस