
दाङ, १५ चैत । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको रिजर्व स्कार्पियो गाडी दुर्घटना हुँदा मृत्यु हुने चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परी एक दम्पतिसहित चार जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृृत्यु हुने सबै तुलसीपुरका रहेका छन् । दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी मोतिराम वलीको बुवा ८५ वर्षिय जय बहादुर वली र आमा ८३ वर्षिय धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षिय परबीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजि ३७ वर्षिय युवराज चापागाईको मृत्यु भएको हो ।
तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीका अनुसार बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो ।
गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएको उहाँले बताउनुभयो । वडा अध्यक्ष जिसीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको हो । दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो ।
गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेको बताइएको छ । गाडी पनि भारतीय नम्बर प्लेटको भएपनि तुलसीपुरकै रहेको खुलेको छ । स्थानीयका अनुसार तीब्र गतिमा रहेको गाडीले साइकललाई बचाउने क्रममा रुखमा गएर ठोकिएको हो । शब नेपाल ल्याउने तयारी भइरहेको आफन्तले बताएका छन् ।