२०८३ भाद्र ९ गते मङ्गलवार

‘योग्यताको सर्टिफिकेट भएर मात्र हुँदैन्, नैतिकताको सर्टिफिकेट चाहिएको छ’


दाङ, ९ चैत ।
भोलिको सुन्दर र सभ्य समाज निर्माणका लागि आजका बालबालिकालाई संस्कारसहितको शिक्षा आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।

दाङको तुलसीपुरमा दाङ भ्याली मावि तुलसीपुर र रेडियो हाम्रो पहुँचले संयुक्तरुपमा शनिबार आयोजना गरेको ‘सुनौलो भविष्य’ कार्यक्रममा सरोकारवालाहरुले संस्कार बिनाको शिक्षाले बालबालिका भविष्य अपुरो हुने बताएका छन् ।

कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक साहुले असल बालबालिका बनाउन अभिभावकले पनि असल भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले फल राम्रो हुन जरा राम्रो हुनुपर्ने भन्दै बालबालिका असल बनाउन विद्यालयमात्रै नभएर अभिभावकले पनि असल संस्कारको विकास गराउनुपर्ने बताउनुभयो ।

यस्तै मोटिभेश्नल ट्रेनर भूपाल सिं रोकायले बालबालिकाले योग्यताको सर्टिफिकेट प्राप्त गरेर मात्र उसको जीवन सफल नहुने बताउनुभयो । उहाँले बालबालिकाको जीवन सफल मार्गमा लैजानका लागि उनिहरुले नैतिकवान र संस्कारसहितको सर्टिफिकेट प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो ।

‘योग्यताको सर्टिफिकेट जागिर खाने प्रमाण मात्रै हो, तर जीवनलाई सफल बनाउन संस्कारको सर्टिफिकेट प्राप्त गर्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘बालबालिकाले संस्कारको सर्टिफिकेट प्राप्त गर्न अभिभावककले घरमा असल संस्कारको विकास गराउनुपर्छ ।’

यस्तै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव निरीक्षक ज्ञान बहादुर कँुवरले अपराध न्यूनिकरण र सवारी दुर्घटनामा कमि ल्याउन असल र जिम्मेवार नागरिक हुनुपर्ने बताउनुभयो ।

उहाँले घर परिवारदेखि विद्यालयसम्मले असल जनशक्ति उत्पादन गर्न ठुलो भूमिका खेल्ने भन्दै उहाँले असल र नैतिकवान नागरिक भएमात्रै भोलिको सुन्दर र सभ्य समाजको परिकल्पना साकार हुने बताउनुभयो ।

उहाँले ट्राफिक नियमको पूर्ण पालना गर्नका लागि जिम्मेवार र असल नागरिक नै आवश्यक पर्ने बताउनुभयो । उहाँले सडकमा सवारी चलाउनेमात्रै नभएर पैदल हिड्ने यात्रीले पनि ट्राफिक नियम पूर्ण पालना गर्न सकेमा दुर्घटना न्यूनिकरण हुने बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि चालक र ट्राफिकले मात्रै नभएर बालबालिकादेखि अभिभावकले पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस