
दाङ, ७ चैत । लुम्बिनी प्रदेशमा गएको फागुन महिनामा सवारी दुर्घटनाबाट ३९ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार १२ जिल्लामध्ये १० जिल्लामा सवारी दुर्घटनाबाट एक महिनाको अवधिमा ३९ जनाको मृत्यु भएको हो ।
सवारी दुर्घटनाबाट सबैभन्दा बढी रुपन्देहीमा १५ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश राजधानी दाङमा ६, कपिलबस्तु र बाँकेमा ४/४, पश्चिम नवलपरासीमा ३, बर्दिया र प्युठानमा २/२ र रोल्पा, पाल्पा र अर्घाखाँचीमा १/१ जनाको मृत्यु भएको छ ।
तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको देखिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार फागुन महिनामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका हुन् ।
गत फागुन महिनामा कुल सवारी दुर्घटनाको ६२ दशमलव ४४ प्रतिशत मोटरसाइकल दुर्घटना भएका छन् । फागुन महिनामा लुम्बिनी प्रदेशभरी ३८९ मोटरसाइकल दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी जनार्दन जिसीले जानकारी दिनुभयो ।
तिब्रगतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारी चलाउँदा फोनको प्रयोग गर्ने लगायतका कारण मोटरसाइकल धेरै दुर्घटना हुुने गरेको उहाँले बताउनुभयो ।
प्रदेश प्रहरीले बिहिबार गरेको पत्रकार भेटघाटमा सुचना अधिकारी जिसीले एक महिनाको अवधिमा लुम्बिनी प्रदेशभर ६ सय ९८ सवारी दुर्घटना भएको बताउनुभयो । उहाँका अनुसार धेरै दुर्घटना हुने सवारी साधनमध्येमा मोटरसाइकलपछि दोस्रोमा जिप/कार रहेका छन् । प्रदेशमा गत फागुन महिनामा ५६ वटा जिप/कार सवारी दुर्घटना भएका छन् ।
यस्तै एक महिनाको अवधिमा ४७ वटा साइकल/रिक्सा, ४६ वटा अटो टेम्पो, १८ वटा ट्याक्टर, १७ वटा ट्रक/ट्यांकर, १७ वटा बस, १४ वटा टिप्पर, १३ वटा माइक्रोबस दुर्घटनामा परेका छन् ।