
दाङ, ३ चैत । स्वर्गीय हिरा डाँगीको पाँचौं पुण्यतिथिको अवसरमा हिरा डाँगी फाउन्डेसनले रक्तदान कार्यक्रम गरेको छ । फाउन्डेसनका अध्यक्ष पोखरसिंह डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, संघसंस्थाका पदाधिकारीहरू गरी ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष डाँगीले समाज सेवामा फाउन्डेसनको योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमहरू निरन्तर गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक सेवाका अन्य क्षेत्रमा गतिशील रूपमा काम गरिरहेको जानकारी दिनुभयो । यस्तै उहाँले संस्थाले रक्तदान कार्यक्रमलाई मात्र सीमित नराखी अन्य विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिहरूलाई पनि प्राथमिकता दिने बताउनुभयो ।
फाउन्डेसनका पदाधिकारीहरूले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै यसले आपत्कालीन अवस्थामा थुप्रै बिरामीहरूको जीवन बचाउन मद्दत गर्ने बताए । कार्यक्रममा सहभागी व्यक्तिहरूले समाजसेवाका कार्यहरूमा संलग्न हुने प्रतिबद्धता जनाउँदै फाउन्डेसनले गरिरहेको प्रयासको प्रशंसा गरेका छन् ।
फाउन्डेसनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रमको सहजीकरण फाउन्डेसनका उपाध्यक्ष प्रेस कुमार गिरीले गर्नुभएको फाउण्डेशनका सदस्य कलसिङ थापाले जानकारी दिनुभयो ।