
दाङ, २९ फागुन । आज रंगहरुको पर्व होली मनाइदै छ । आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई देशका पहाडी तथा हिमाली भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ ।
नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी भेगमा मनाउने गरिन्छ भने भोलि तराईका क्षेत्रहरुमा हर्षोल्लासपूर्वक होली मनाइन्छ । पहाड र तराइ क्षेत्रमा दुई दिनसम्म मनाइने होली पर्वका अवसरमा साथी भाइ तथा इष्टमित्रहरु एकठाउँमा जम्मा भएर रंगहरुसँग खेल्दै रमाइलो गर्ने प्रचलन छ ।
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।
हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज पहाडमा सार्वजनिक बिदा समेत दिएको छ ।