२०८२ जेष्ठ ५ गते सोमवार

नैतिकवान बालबालिका बनाउन असल अभिभावक हुनुपर्ने जोड


दाङ, २४ फागुन । नैतिकवान बालबालिका बनाउन अभिभावकले पनि असल भूमिका खेल्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । तुलसीपुर–५ रानीजरुवामा भएको कार्यक्रममा सरोकारवालाले बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि अभिभावकले असल संस्कारको भूमिका निभाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक भरतनाथ योगीले बालबालिकालाई लागुऔषध दुर्व्यसन, मोबाइलको गलत प्रयोग, सानैमा हुने विवाहबाट जोगाउनुपर्ने बताउनुभयो । उहाँले प्रहरीले अपराधमा संलग्नलाई जेल हाल्नेमात्रै भन्दा पनि सचेतना अभियानमा लागेको बताउनुभयो ।

यस्तै मोटिभेशनल प्रशिक्षक भूपाल सिं रावतले नेपालीका रितिरिवाजसंग संस्कार जोडिएको बताउनुभयो । उहाँले बालबालिकाको सुन्दर भविष्यका लागि अभिभावकले आर्थिकसंगै समय पनि लगानी गर्नुपर्ने बताउनुभयो ।

यस्तै दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि अभिभावकको भूमिका संस्कारयुक्त हुनुपर्ने बताउनुभयो । उहाँले अभिभावकको गलत संस्कारले बालबालिका पनि गलत क्रियाकलापमा संलग्न हुने भएकाले सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुद्ध नगर टोल विकास संस्थाका अध्यक्ष ऋषिराज खरेल र विशाल नगर टोल विकास संस्थाका अध्यक्ष भवानी केसीले असल अभिभावक बनाउनका लागि सचेतना अभियान प्रभावकारी बन्ने बताउनुभयो । सुनौलो भविष्य कार्यक्रम शनिबार तुलसीपुर–५ रानिजरुवामा गरिएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस