२०८२ बैशाख ३० गते मङ्गलवार

प्रमुख प्रशासकीय अधिकृत डाँगीको अछाममा सरुवा

दाङ, २२ फाल्गुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सहित ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले ३९ जना नयाँ पदस्थापन भएका उपसचिवहरु र ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो । जसअनुसार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीको अछामको मङ्गलसेन नगरपालिकामा सरुवा भएको छ ।

गत माघ २७ गतेको ३० औं कार्यपालिका बैठक काङ्ग्रेसले प्रमुख प्रशासकियको सरुवा हुनुपर्ने माग राख्दै बहिष्कार गरेको थियो । गतवर्ष चैतमा तुलसीपुर उपमहानगरपालिकामा आएका डाँगी पछिल्लो समय एकपछि अर्को विषयमा विवादितत बन्दै जानुभएको थियो । उहाँको कार्यशैलीलाई लिएर जनप्रतिनिधि तथा कर्मचारी असन्तुष्ट भएका थिए । एजेन्डामा नभएका विषय कार्यपालिका बैठकमा घुसाएर निर्णय गर्दा पछिल्लो समय पालिका बदनाम बन्दै गएको थियो ।

गत पुस १३ गते प्रमुख प्रशासकिय अधिकृत डाँगीलाई तुलसीपुर निवासी सर्प उद्धारकर्ता प्रभात भण्डारीले सर्प महोत्सव बापतको रकम भुक्तानीमा आनाकानी गरेपछि कार्यकक्षमै ताला लगाएर थुनेका थिए ।

मेयरका स्वकीय सचिव तथा प्रेस संयोजकलाई हटाइएको निणय हुँदा समेत आफुहरुले जानकारी नपाएको एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले बताए । मेयरको सचिवालय समेत खारेज भएको छ । विवादका पर्यायको रुपमा चिनिने प्रमुख प्रशासकिय अधिकृत डाँगीको एक वर्ष नपुग्दै सरुवा भएको हो ।

डाँगीको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव केशवराज पार्धेलाई पठाएको छ । उहाँ निजामती सेवामा शालिन र भद्र स्वभावभको अधिकृत रहेको समकक्षिहरू बताउँछन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस