
दाङ, १८ फागुन । बीरेन्द्र माध्यमिक विद्यालयले आइतबार ६४ औँ वार्षिकोत्सव मनाएको छ । तुलसीपुर–१ भ्युडहर सुनपुरमा रहेको विद्यालयले विभिन्न कार्यक्रम गरी ६४ औँ वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लुप्रसाद न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद धन बहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि सांसद मास्कीले पछिल्लो समय सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएको बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादनमा बीरेन्द्र माविले महत्वपूर्ण भूमिका खेलेको भन्दै भौतिक तथा शैक्षिक सुधारका लागि सबैको प्रयास हुनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानध्यापक टोप बहादुर घर्तीले विद्यालयको शैक्षिक उपलब्धिका लागि निरन्तर लागिरहेको बताउनुभयो । उहाँले विद्यालयको समग्र विकासका लागि स्थानीयको साथ र सहयोग अनिवार्य रहेको बताउनुभयो ।
विद्यालयको भौतिक विकास भएर मात्रै प्रगति नहुने भन्दै उहाँले शैक्षिक उपलब्धि हासिल गर्न शिक्षकसंगै विद्यार्थी र अभिभावकले पनि साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीको श्रम सिपको विकास गराउनका लागि विद्यालयले बेसार खेती र केरा खेती गरेको समेत बताउनुभयो ।
विस २०१७ सालमा स्थापना गरिएको विद्यालयले थुप्रै जनशक्ति उत्पादन गरेको बताउनुभयो । विद्यालयमा अहिले ५ सय बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । प्रधानाध्यापक घर्तीले १० कक्षाका विद्यार्थीका लागि छात्रावास बनाउने गरी अघि बढेको बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा आज विद्यार्थीले विभिन्न ५ भाषामा मन्तव्य राखेका छन् । कक्षा ४ कि एलिसा डाँगीले संस्कृत भाषामा, कक्षा ७ का वर्षा विकले नेपाली भाषामा, कक्षा १२ का एन्जल ठाडाले मगर भाषामा, कक्षा १० का रजिना चौधरीले थारु भाषामा र कक्षा ८ का दिया पाण्डेले अंग्रेजी भाषामा मन्तव्य राखेका हुन् ।
वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ भने विभिन्न साँस्कृतिक कार्यक्रम पनि गरिएको छ । कार्यक्रमको सहजीकरण डा. जीतबहादुर गिरीले गर्नुभएको हो ।