२०८२ बैशाख ३० गते मङ्गलवार

सामुदायिक विद्यालयप्रति विश्वास बढ्दै छ : मन्त्री ढकाल


दाङ, १५ फागुन । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सामुदायिक विद्यालयप्रति विश्वास बढ्दै गएको बताउनुभएको छ ।

दाङको तुलसीपुर–१२ हरिपौरीमा रहेको पशुपति माविको ७० औँ वार्षिकोत्सव (हिरक जयन्ती) लाई सम्बोधन गर्दै मन्त्री ढकालले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर दिन थालेपछि संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयमा आउने विद्यार्थीको संख्या बढ्दै गएको बताउनुभयो । ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको भविष्य सुन्दर छैन् भन्ने भाष्य गलत सावित हुँदैछ ।’ उहाँले भन्नुभयो–‘सामुदायिक विद्यालयमा विद्यार्थी भरिन थालेका छन् ।’

उहाँले तुलसीपुरको पशुपति माविको भौतिक पूर्वाधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यसका लागि योजना बनाएर आउन पनि उहाँले विद्यालय प्रशासनलाई आग्रह गर्नुभएको छ ।

उहाँले परम्परागत शिक्षाले उत्पादन हुने जनशक्तिले आफु र देशलाई ठिक ठाउँमा पुर्‍याउन नसक्ने भन्दै उहाँले विद्यालयले अब समय सुहाँउदो शिक्षा दिनुपर्ने बताउनुभयो । ‘आजको युग अनुसारको शिक्षा हामीले व्यवस्थापन गर्न सकेनौँ भने उत्पादन हुने जनशक्तिले भोलि आफुलाई ठिक ठाउँमा पुर्‍याउन सक्दैनन् ।’ उहाँले भन्नुभयो–‘सामुदायिक विद्यालयले प्राविधिक धारका विषय समावेश गर्दै लैजानुपर्छ ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले सरकारी तलब खाने शिक्षक, कर्मचारी र जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने बताउनुभयो ।

उहाँले तुलसीपुर उपमहानगरपालिकामा कुनै पनि बहानामा सरकारी शिक्षक, जनप्रतिनिधि, सरकारी कर्मचारी कसैले पनि छोराछोरीलाई संस्थागत विद्यालयमा पढाउने छुट नरहेको बताउनुभयो ।

उहाँले तुलसीपुरको शिक्षा सुधारका लागि निरन्तर लागि रहेको बताउँदै तीन दिनभित्रै शिक्षक दरबन्दी मिलानको प्रक्रियामा जाने बताउनुभयो । विद्यालयले बिहिबार ७० औँ वार्षिकोत्सव हिरक जयन्ती विभिन्न कार्यक्रम गरि मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खग्रेन्द्र अधिकारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर –१२ का अध्यक्ष खुशीराम चौधरीले विद्यालयले दक्ष जनशक्ति उत्पादनमा महात्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले दाङका सचिव सुर्य बहादुर डाँगीले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सबै लाग्नुपर्ने बताउनुभयो । ‘सामुदायिक विद्यालयमा हामी सबैको लगानी छ ।’ उहाँले भन्नुभयो–‘सबै मिलेर सामुदायिक विद्यालयको शिक्षाको सुधार गर्न पर्यत्न गर्नुपर्छ ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राधा चौधरीले विद्यालयको प्रगति विवरण पेश गर्नुभयो । विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयले शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरेको छ । कार्यक्रमको सहजीकरण शिक्षक रमा आचार्य र महेश चौधरीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस