
दाङ, १४ फागुन । दाङसहित देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । दाङको धारापानी, तुलसीपुरको शितलपुर तथा सल्यानको छत्रेश्वरीमा विशेष मेला लागेको छ ।
बिहानैदेखि शिवालयहरूमा दर्शनार्थीको घुँइचो लागेको छ । भक्तजनहरू व्रत बसेर शिवलिंगमा जल, बेलपत्र, दूध र गंगाजल अर्पण गरिरहेका छन् । धारापानी मन्दिरमा तीन दिनदेखि विशेष पूजा एवं भजन कीर्तन भइरहेको छ भने तुलसीपुरको शितलपुर र छत्रेश्वरी मन्दिर परिसरमा समेत बिहानै दर्शनार्थीको भीड लागेको छ ।
यसैबिच छत्रेश्वरी गाउँपालिकाको छत्रेश्वरी मन्दिर तथा शंखपार्कमा लाग्ने मेलामा मादक पदार्थ सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै मादक पदार्थ सेवन र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । कसैले मादक पदार्थ सेवन गरेको या बिक्रीवितरण गरेको पाइए प्रहरीले कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।
भगवान् शिवलाई प्रसन्न पार्ने बहानामा शिवरात्रिमा प्रसादका नाममा मादक पदार्थ (भाङ, गाँजा, घोट्टा) सेवन तथा बिक्री वितरण हुने भन्दै यस्तो निर्णय लिइएको छत्रेश्वरी सतीदेवी क्षेत्र विकास समितिका अध्यक्ष विश्वप्रेमी दाहालले बताउनुभयो ।
छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आएका तीर्थयात्रीलाई बस्नखानको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार शारदा नदी पुल र घोप्टेअम्राईबाट प्रवेशद्वार बनाइएको र फर्कंदा लान्तीबजारको बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ ।
महाशिवरात्रि पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको बिहानैदेखि छ । यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरिएको छ ।