दाङ, १० फागुन । बालबालिकाको समग्र विकासमा परिवारको भूमिका अहम् रहने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कार्यक्रम : सुनौलो भविष्य कार्यक्रममा सहभागीले घरमा धेरै समय बालबालिका रहने भएकाले पहिलो सिकाईको जग घर परिवार नै रहेको बताएका हुन् ।
तुलसीपुर–१० गौरीशंकर टोलमा गरिएको कार्यक्रममा स्थानीय केबि चौधरीले विद्यालयम शिक्षा सिकेपनि संस्कार घरबाटै सिकाउनुपर्ने बताउनुभयो । उहाँले
‘बालबालिकाको पहिलो पाठशाला घर हो’ भन्दै अभिभावकहरूलाई आफ्ना सन्तानलाई असल मार्गमा डोर्याउने जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
गौरी शंकर टोलका अध्यक्ष सुवास केसीले संस्कार बिनाको शिक्षा अपूर्ण हुने बताउनुभयो । उहाँले बालबालिकालाई शिक्षासंगै संस्कार आवश्यक हुने भएकाले घरबाटै संस्कार सिकाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले घरमै राम्रो संस्कार, अनुशासन र मूल्य–मान्यताको शिक्षाको माध्यमबाट बालबालिकालाई सकारात्मक सोचको विकास गराउन सकिने बताउनुभयो ।
‘विद्यालयले ज्ञान दिन्छ, तर परिवारले मूलभूत आधार तयार गर्छ ।’ उहाँले भन्नुभयो–‘त्यसैले भोलिको सुन्दर समाज निर्माणका लागि बालबालिकालाई असल संस्कार सिकाउन अभिभावक जिम्मेवार बन्नुपर्छ ।’ सहभागी वक्ताहरूले परिवारको सकारात्मक वातावरणले बालबालिकाको व्यवहार, सोचाइ र सिकाइ प्रक्रियामा ठूलो प्रभाव पार्ने बताएका छन् ।
कार्यक्रम : ‘सुनौलो भविष्य’ दाङ भ्याली मावि तुलसीपुरको सहकार्यमा रेडियो हाम्रो पहुँचले उत्पादन तथा प्रशारण गर्ने गरेको छ । कार्यक्रमको नवौँ भाग तुलसीपुर–१० को गौरीशंकर टोलसहित लक्ष्मण नगर टोल र संजिवनी टोलमा तयार गरिएको हो ।


