
दाङ, १० फागुन । तुलसीपुरमा अटो र हाइस ठोक्किँदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७, ग्वारखोला क्षेत्रमा अटो र हाइस आपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन् ।
शनिबार साँझ करिब ६ बजे तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ ह ६१८९ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१००१ ज ००३६ नम्बरको हाइस आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा अटोमा सवार तुलसीपुर–१८ की ४० वर्षीया रिता चौधरी दायाँ खुट्टामा चोट लागी सामान्य घाइते हुनुभएको छ ।
त्यस्तै २० वर्षीया सुनिता चौधरीको खुट्टा, टाउको र भित्री भागमा सामान्य चोट लागेको छ । दुवै घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीले दुर्घटनामा संलग्न हाइस चालक तुलसीपुर–१५ का प्रेम कुमार बाठा र अटो चालक तुलसीपुर–१८ का दुर्गा बहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ । दुवै सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।