२०८२ बैशाख १० गते बुधवार

कालिमाटीको सार्वजनिक सुनुवाई : स्थानीयले उठाए विकासका समस्या


सल्यान, ९ फागुन । सल्यानको कालिमाटी गाउँपालिकाको वडा नम्बर २ र ३ को बिहिबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले सडक, स्वास्थ्य, पुल र विद्युत जस्ता आधारभूत आवश्यकताका विषयमा आफ्ना समस्या राखेका छन् ।

उनीहरूले गाउँपालिकामा अस्पताल भवन निर्माण हुन नसकेको, विद्युत सेवा प्रभावकारी रूपमा नपुगेको तथा खोलामा पुलको अभावले गर्दा आवागमनमा समस्या भएको बताएका हुन् । उनीहरूले अस्पताल भवन अलपत्र परेपछि स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुन नसकेको बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर खत्रीको अध्यक्षता तथा उपाध्यक्ष सनसिल्ता वली डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष सनसिल्ता वली डिसीले नागरिकका गुनासो गम्भीर रूपमा लिएको बताउँदै समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरिने बताउनुभयो । उहाँले स्थानीय तहले जनताको समस्या बुझेर योजनाबद्ध रूपमा विकासका काम अघि बढाउने बताउनुभयो ।

पालिकाको विकास योजना दीर्घकालीन रूपमा प्रभावकारी बनाउन नागरिकहरूको सहकार्य आवश्यक रहेको उहाँको भनाई छ । यसैगरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर खत्रीले गाउँपालिकाका सीमित स्रोत–साधनका कारण कतिपय योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको उल्लेख गर्नुभयो ।

वडा नम्बर २ का अध्यक्ष इन्द्र बहादुर वलीले वडामा भइरहेका विकास निर्माणका गतिविधिहरू र रोजगारीको अवस्थाबारे जानकारी गराउँदै केही योजनाहरू कार्यान्वयनको क्रममा रहेको बताउनुभयो ।

त्यस्तै, वडा नम्बर ३ का अध्यक्ष शिवकुमार खत्रीले आफ्नो वडालाई पोषणमैत्री बनाउने अभियान सञ्चालन भइरहेको जानकारी गराउँदै हाल वडामा २० वटा योजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्देश्य नागरिकका समस्या, गुनासो तथा सुझाव संकलन गरी तीनको समाधानका लागि पहल गर्नु रहेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी नागरिकहरूले विकास योजनाहरू पारदर्शी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै गाउँपालिकालाई थप प्रभावकारी सेवा प्रवाहका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक अगुवाहरू, वडा सदस्यहरू, महिला समूहका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय कला, संस्कृति संरक्षणका लागि सोरठी नाच, पञ्चेबाजा, दोहोरी गीत तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको हो । नागरिक र जनप्रतिनिधिको भूमिकासम्बन्धी दोहोरी गीत प्रस्तुत गरिएको थियो भने एकल तथा संयुक्त लोकगीत र नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । यसैगरी सोरठी नाच, पञ्चेबाजा, लोकगित, नृत्य लगायतमा उत्कृष्ट हुनेलाई पुरस्कार समेत वितरण गरिएको छ ।

कालिमाटी गाउँपालिकाको आयोजना तथा उज्यालो संचार केन्द्र सल्यानको सहजीकरणमा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष घर्तीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस