
दाङ, ६ फागुन । गोरखा मावि तुलसीपुरले प्राथमिक तहको सिपिएस एण्ड सिपिआरएस सेलिब्रेसन तथा अभिभावक शिक्षा कार्यक्रम गरेको छ । विद्यार्थीहरूको रचनात्मक सीप विकास, समस्या समाधान गर्ने क्षमताको अभिवृद्धि र अभिभावकहरूलाई शैक्षिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक बिजय जिएमले विद्यार्थीहरूको सिर्जनशील क्षमता अभिवृद्धि गर्नुका साथै अभिभावकहरूलाई बालबालिकाको शिक्षा तथा मानसिक विकासमा आवश्यक भूमिका निर्वाह गर्न उत्प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीले विभिन्न रचनात्मक प्रस्तुति राखेका थिए । विद्यालयमा शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययनरत १ हजार २४६ जना बालबालिकाले नै रचनात्मक प्रस्तुति राखेको विद्यालयले जनाएको छ ।

कार्यक्रमले बालबालिकाको सृजनात्मक तथा बौद्धिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको विद्यालयका प्राथमिक तह संयोजक कमल भण्डारीले बताउनुभयो । गोरखा मावि तुलसीपुरका शैक्षिक निर्देशक दुर्गा बहादुर केसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा लावन्य इन्टरन्टेश्नलका निर्देशक पुजा शाहले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्राथमिक तह संयोजक कमल भण्डारी र पुर्व प्राथमिक तह संयोजक मेनुका चौधरीले गर्नुभएको हो ।