२०८१ चैत्र ८ गते शुक्रवार

आचार्यकुलम दाङले मनायो प्रथम वार्षिकोत्सव

दाङ, ३ फागुन । तुलसीपुरमा रहेको आचार्यकुलम दाङले प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गत वर्ष आजकै दिन सरस्वती पूजाका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यालयले आज (शनिबार) प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

योगलाई वैदिक संस्कृति र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतञ्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहले बताउनुभयो ।

योग अभ्यासले मानिसलाई शारीरिक, मानसिक र आत्मिक समृद्धि हासिल गर्न मद्दत गर्ने बताउँदै, शिक्षा र योगको संयोजन गर्दै समग्र राष्ट्रका लागि बलियो र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा समिति निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

योग, वैदिक संस्कृति तथा आधुनिक शिक्षालाई सँगै लैजाँदै योग्य तथा चरित्रवान नागरिक बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०, गोलौरीमा विद्यालय सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

आचार्यकुलम सञ्चालन समितिका अध्यक्ष दीपक बस्यालको अध्यक्षता तथा पतञ्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहको प्रमुख आतिथ्यता एवम् प्राध्यापक नीलप्रकाश सापकोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

आचार्यकुलममा चालु शैक्षिक सत्रमा प्ले ग्रुपदेखि ६ कक्षासम्मको पठनपाठन सञ्चालन भइरहेको छ । विद्यालयमा २५० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। आगामी शैक्षिक सत्रदेखि कक्षा ७ पनि सञ्चालन हुने सञ्चालक समितिका अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले वैदिक शिक्षा आजको आवश्यकता रहेको बताएका थिए।कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा योग अभ्यासका प्रस्तुति राखेका थिए । यसैबीच, वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा नौवटा योग साधना केन्द्र सहभागी रहेका थिए। सम्पन्न प्रतियोगितामा अरनिको योग साधना केन्द्र तुलसीपुर प्रथम, दोघरे आयुर्वेद योग साधना केन्द्र द्वितीय र भुयारथान योग साधना केन्द्र तुलसीपुर तृतीय भएका छन् ।

आचार्यकुलमका प्रधानाध्यापक मिलन बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्चालक समिति सदस्य टेकबहादुर खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस