
दाङ, ३ फागुन । दक्ष र संस्कारयुक्त जनशक्ति निर्माणका लागि अभिभावकले बालबालिकाको शिक्षामा आर्थिक लगानी गरेरमात्र नहुने सरोकारवालाले बताएका छन् ।
तुलसीपुर–९ बेलुवामा गरिएको ‘सुनौलो भविष्य’ नामक कार्यक्रमका सहभागी सरोकारवालाले संस्कारयुक्त जनशक्ति निर्माणका लागि अभिभावकले बालबालिकाका लागि समय पनि लगानी गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा तुलसीपुरमा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालले अभिभावकले बालबालिकाको शिक्षामा आर्थिक लगानी मात्रै जिम्मेवारी पुरा नहुने बताउनुभयो । उहाँले अभिभावकले बालबालिकाको लागि समय पनि दिनुपर्नेमा जोड दिनुभयो ।
बालबालिकाको समग्र विकासका लागि परिवार, विद्यालय र समाजको भूमिकाबारे विमर्श गरिएको कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले अभिभावकले बालबालिकाको समस्या बुझ्ने र आत्मविश्वास बढाउने काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै प्रधानाध्यापक शिला अर्यालले बालबालिकालाई प्रविधिबाट टाढा राख्न नहुने तर प्रविधिको गलत प्रयोगबारे अभिभावक सचेत बन्नुपर्ने बताउनुभयो । यस्तै तुलसीपुर चेम्बर अफ कमर्शका महासचिव दुर्गा शर्माले बालबालिकाको उज्ज्वल भविष्यका लागि गुणस्तरीय शिक्षा मात्र पर्याप्त नभई अभिभावकको सक्रिय सहभागिता पनि आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले बालबालिकाको अध्ययनमा सहयोग पुर्याउने वातावरण बनाउन विद्यालय र अभिभावक बीच समन्वय आवश्यक रहेको बताएका थिए । विद्यालय संचालक समितिका अध्यक्ष तिलक शाहुको अध्यक्षता तथा तुलसीपुर–९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर–४ मजुवाका समाजसेवी आमा समुहको पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।