
दाङ, ३० माघ । तुलसीपुर उपमहानगरपालिकाको १६ औँ नगरसभामा आज कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहभागी हुने भएका छन् । कांग्रेसले राखेका १० बुँदे माग सम्बोधन गर्न नगरप्रमुखले सहमति जनाएपछि कांगे्रसबाट निर्वाचित जनप्रतिनिधि आजको नगरसभामा सहभागी हुन लागेका हुन् ।
२८ गतेको नगरसभाको पहिलो बैठकमा अन्य विषयगत समितिहरुले प्रतिवेदन पेश गरेपनि कांग्रेसले बहिष्कार गरेका कारण लेखा समितिको प्रतिवेदन पेश हुन सेकेको थिएन ।
सभाको मध्य भागमा लेखा समितिको प्रतिवेदन पेश गर्न सदस्य सचिव प्रकाश केसीलाई रोष्टममा बोलाएपनि लेखा समिति संयोजक घनश्याम ढकालले पेश गर्नु नपर्ने भनेकाले तयारी नभएको भनि फर्किनुभएको थियो ।
तर आजको सभामा आफु जिल्ला बाहिर रहेकाले प्रतिवेदन पेशको जिम्मेवारी वडा नम्बर १२ का सदस्य धनराज गौतमलाई प्रदान गरिएको संयोजक ढकालले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो ।
आजको नगरसभामा कांग्रेस पनि सहभागी हुने सामाजिक विकास समितिका संयोजक तथा वार्ता टोलीका सदस्य मानबहादुर रावतले जानकारी दिनुभयो । कांग्रेसले उठाएका माग सम्बोधनका लागि तीन चरणमा बैठक बसेर सहमती भएको लेखा समितिका संयोजक ढकालले बताउनुभयो ।
पहिलो चरणमा वडाअध्यक्ष बिच छलफल भएको , दोस्रो चरणमा नगरप्रमुखसंग कांगे्रसका नेताहरु क्षेत्र नम्बर ३ का सभापति जगत खड्का, तुलसीपुर नगर सभापति सुरेश हमाल, क्षेत्र नम्बर ३ (१) का सभापति देवेन्द्र रिजाल बसेका थिए ।
यस्तै अन्तिम चरणमा कांग्रेसका तर्फबाट वडा नम्बर १७ का अध्यक्ष थलराज पुरी र वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल, एमालेका तर्फबाट वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावत र वडा नम्बर १८ का अध्यक्ष माधव वली र नगरप्रमुख टिकाराम खड्कासंग वार्ता बसेको थियो ।
कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यले प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको सरुवादेखि पालिका सुधार्न र आर्थिक मितव्यतिता गर्नुपर्ने लगायतका १० बुँदे माग राखेका छन् ।
आर्थिक अनियमितताका घटनाहरू सार्वजनिक भएर पालिका बदनाम भएपनि नगर प्रमुखले कुनै वास्ता नगरेको, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले कार्यपालिकाको बैठकमा समावेश नभएका एजेण्डा कार्यपालिकाको माइन्युटमा घुसाएर पालिकाको हित विपरीत काम गरेको, कर्मचारीहरूलाई समान व्यवहार नगरी मनोबल घटाउने काम गरेको, पालिका सुधार्न र आर्थिक मितव्यतिता गर्ने बहानामा पालिकाको भन्दा काठमाडौँको बसाई धेरै हुने गरेको जस्ता विषयलाई तत्काल सुधार गर्नुपर्ने माग छ ।
यस्तै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बिगत लामो समयदेखि बैठक व्यवस्थापन शाखाको काम गरिरहेका झरेन्द्रकुमार खरेललाई बैठक व्यवस्थापन शाखामै फिर्ता गरिनुपर्ने, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको ज्यादती बढेकाले तत्काल अनिवार्य सरुवा गर्नुपर्ने, युनियन संगठनका कर्मचारीहरूको सरुवा गर्दा सम्बन्धित संगठनसंग समन्वय गरेर मात्र सरुवा गर्नुपर्ने माग राखेका छन् ।
यस्तै लामो समयदेखि १९ वटै वडामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हालसम्म अस्थायी करारमा नियुक्ति गर्न नसक्दा तलब भुक्तानीमा समस्या रहेको र महालेखापरिक्षकको कार्यालयलेसमेत पटक–पटक सचेत गराएको हुँदा उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर अस्थायी करारको व्यवस्था गरी तलब सेवा सुविधा समान रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
गत वर्ष माबि दोघरेबाट दिपेन्द्र माबि मानपुरमा प्रक्रिया मिलानका लागि भन्दै नगर प्रमुख खड्काको ठाडो आदेशमा सरुवा गरिएका संघीय अनुदान कोटाका शिक्षक एकराज भण्डारीलाई एक वर्षसम्म पनि फिर्ता नबोलाइएकोले पुनः माबि दोघरेमै सरुवा गर्नुपर्ने, वडा नम्बर ९ को नबदुर्गा ग्रिन पार्क व्यवस्थापनका लागि कार्यपालिका र नगरसभाले पास गरी बेभसाइडमा समेत राखि सकेको बजेट रातो किताबमा प्रकाशन गर्न बाँकी रहेकोमा व्यक्तिगत कारणले हटाइएको रु २५ लाख अविलम्ब टेन्डर प्रक्रियामा अगाडि बढाउनुपर्ने, १९ वटै वडाका जनप्रतिनिधीहरूलाई मेयरले हेर्ने दृष्टिकोण समान हुनुपर्ने, कार्यपालिकाले गरेका निर्णयहरू अविलम्ब कार्यान्वयनमा लग्नुपर्ने माग रहेको छ ।