२०८२ जेष्ठ ५ गते सोमवार

तुलसीपुरको ३० औं कार्यपालिका बैठक आज : प्रमुख प्रशासकियको सरुवा हुनुपर्ने माग

दाङ, २७ माघ। तुलसीपुर उपमहानगरपालिकाको ३० औं कार्यपालिका बैठक आज (आईतबार) बिहान ८ बजेका लागि आह्वान गरिएको छ। 

कार्यपालिका बैठकमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षहरूले बहिष्कार गर्ने भएका छन्। 

लेखा समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले आज बोलाइएको बैठकमा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता नरहने जानकारी दिनुभयो।

नगर प्रमुख टिकाराम खड्कालाई आफुहरुले १० बुँदे माग लिखित रूपमा बुझाएपनि सम्बोधनका लागि कुनै तदारुकता नदेखाई उल्टै हाँसी मजाकको विषय बनाएको भन्दै आजको बैठक बहिष्कार गर्ने निर्णय गरिएको संयोजक ढकालले बताउनुभयो । 

आर्थिक अनियमितताका घटनाहरू सार्वजनिक भएर पालिका बदनाम भए पनि नगर प्रमुखले कुनै वास्ता नगरेको,प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले कार्यपालिकाको बैठकमा समावेश नभएका एजेण्डा कार्यपालिकाको माइन्युटमा घुसाएर पालिकाको हित विपरीत काम गरेको, कर्मचारीहरूलाई समान व्यवहार नगरी मनोबल घटाउने काम गरेको, पालिका सुधार्न र आर्थिक मितव्यतिता गर्ने बहानामा पालिकाको भन्दा काठमाडौँको बसाई धेरै हुने गरेको जस्ता विषयलाई तत्काल सुधार गर्न मेयर टिकाराम खड्कालाई लिखित पत्र बुझाउँदासमेत वेवास्ता भएपछि कार्यपालिका बैठक नै बहिष्कार गर्नुपरेको संयोजक ढकालले बताउनुभयो।

पन्ध्र दिन अघि बुझाएको लिखित पत्रको पहिलो बुँदामा बिगत लामो समयदेखि बैठक व्यवस्थापन शाखाको काम गरिरहेका झरेन्द्रकुमार खरेललाई बैठक व्यवस्थापन शाखामै फिर्ता गरिनुपर्ने, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको ज्यादती बढेकाले तत्काल अनिवार्य सरुवा गर्नुपर्ने, युनियन संगठनका कर्मचारीहरूको सरुवा गर्दा सम्बन्धित संगठनसंग समन्वय गरेर  मात्र सरुवा गर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तै लामो समयदेखि १९ वटै वडामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हालसम्म अस्थायी करारमा नियुक्ति गर्न नसक्दा तलब भुक्तानीमा समस्या रहेको र महालेखापरिक्षकको कार्यालयलेसमेत पटक–पटक सचेत गराएको हुँदा उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर अस्थायी करारको व्यवस्था गरी तलब सेवा सुविधा समान रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

गत वर्ष माबि दोघरेबाट दिपेन्द्र माबि मानपुरमा प्रक्रिया मिलानका लागि भन्दै नगर प्रमुख खड्काको ठाडो आदेशमा सरुवा गरिएका संघीय अनुदान कोटाका शिक्षक एकराज भण्डारीलाई एक वर्षसम्म पनि फिर्ता नबोलाइएकोले पुनः माबि दोघरेमै सरुवा गर्नुपर्ने, वडा नम्बर ९ को नबदुर्गा ग्रिन पार्क व्यवस्थापनका लागि कार्यपालिका र नगरसभाले पास गरी बेभसाइडमा समेत राखि सकेको बजेट रातो किताबमा प्रकाशन गर्न बाँकी रहेकोमा व्यक्तिगत कारणले हटाइएको रु २५ लाख अविलम्ब टेन्डर प्रक्रियामा अगाडि बढाउनुपर्ने, १९ वटै वडाका जनप्रतिनिधीहरूलाई मेयरले हेर्ने दृष्टिकोण समान हुनुपर्ने, कार्यपालिकाले गरेका निर्णयहरू अविलम्ब कार्यान्वयनमा लग्नुपर्ने माग रहेको छ।

यस्तै कार्यपालिका बैठकमा निर्णय भएको एजेण्डाको प्रतिलिपि पढेर सुनाएपछि मात्र प्रमाणित गरेपछि मात्र दोस्रो कार्यपालिकाको बैठक सञ्चालन गर्नुपर्ने,बैठकका एजेण्डा तयार गर्दा काङ्ग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिसँगपनि छलफल गरेर तयार गर्ने परिपाटीको विकास गर्नुपर्ने उल्लेख छ।

 यस विषयमा आफुहरुलेपनि माओवादी र काङग्रेस दुवैदलबाट निर्वाचित प्रतिनिधिहरुसंग बैठकमा लैजान् एजेन्डाहरुका विषयमा समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव दिदै आएको तुलसीपुर–१२ का अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो ।

आजको बैठकमा पालिकाको आसन्न १६ औँ नगरसभाको कार्यसूची,निजीवन दर्ता ,सडकबत्ति सम्बन्धी ठेक्का रद्ध गर्ने,बिज्ञापन कर सम्बन्धी ठेक्का सम्झौता नविकरण,टेन्डर आव्हान भई ठेक्कामा नगएका नदिजन्य पदार्थको पुनः ठेक्का गर्ने विषयमा निर्णय हुनेछ ।

यस्तै दलित सशक्तिकरण ऐन,२०७९ को संशोधन,आपतकालिन अवस्थाका बालवालिका कार्यक्रम अन्तर्गत स्वीकृत वजेट दिदिघर संस्थासंग सम्झौता गर्ने लगायतका १६ वटा एजेन्डामा छलफल हुन लागेको हो । –रेडियो हाम्रो पहुँचबाट

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस