
दाङ, २६ माघ । अभिभावकको असल संस्कारले बालबालिकाको भविष्य उज्जवल बनाउने भएकाले नैतिक शिक्षामा परिवारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा आयोजित ‘सुनौलो भविष्य’ कार्यक्रममा वक्ताहरूले बालबालिकाको उज्जवल भविष्य निर्माणमा परिवार, विद्यालय र समाजको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका हुन् ।

कार्यक्रममा तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीले अभिभावकीय शिक्षाले बालबालिकालाई असल नागरिक बनाउने बताउँदै वडाले पनि अभिभावक सचेतनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले बालबालिकालाई राम्रो संस्कार दिन परिवारबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो । यस्तै हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सिकाइको दायरा विद्यालयमा मात्र सीमित नभई घर, समाज र ब्रह्माण्ड नै सिकाइ केन्द्र भएको बताउनुभयो ।
त्यसैगरी, दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले अभिभावकीय शिक्षाका लागि ‘सुनौलो भविष्य’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले विद्यालयमा बालबालिका भर्ना गराएर मात्र अभिभावकको कर्तव्य पूरा नहुने भन्दै असल नागरिक बनाउन परिवार र समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा एकता टोल मोतिपुरका अध्यक्ष छोटीलाल थारुले बालबालिकालाई मोबाइलको नकारात्मक प्रभावबाट जोगाउन अभिभावक सजग हुनुपर्ने बताउनुभयो ।
यस्तै वडा सदस्य दिवानी चौधरी, नवज्योति टोल विकास संस्थाका अध्यक्ष जीवराज भण्डारी, मोतिपुर भूयाँरथानका अध्यक्ष दामु चौधरी, नवज्योति टोल विकास संस्थाका सचिव खेन्टु गिरी लगायतले कार्यक्रमको प्रशंसा गर्नुभयो ।
‘सुनौलो भविष्य’ कार्यक्रम दाङ भ्याली मावि तुलसीपुरको सहकार्यमा रेडियो हाम्रो पहुँचले उत्पादन गर्ने गरेको छ । रेडियो हाम्रो पहुँचका समाचार सम्पादक जीतसागर जी.एमले कार्यक्रम सुनौलो भविष्य गाउँ–गाउँ पुगेर तयार पार्ने गरिएको बताउनुभयो ।