
दाङ, २६ माघ । समाजसेवा र परोपकारी कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा कपडा बैंक स्थापना गरिएको छ । तुलसीपुर–७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेल र घोराही–१५ निवासी रबिन ज्ञवालीको पहलमा कपडा बैंक सञ्चालनमा आएको हो ।
‘जो सँग अतिरिक्त कपडा छन्, उनीहरूले यस बैंकमा प्रदान गर्न सक्नेछन् ।’ समाजसेवी पौडेलले भन्नुभयो–‘जसलाई आवश्यक छ, उनीहरूले निःशुल्क रूपमा कपडा लैजान सक्नेछन् ।’
यो अभियानले आर्थिक रूपमा कमजोर वर्गलाई विशेष लाभ पुग्नेछ । कपडा बैंकलाई तुलसीपुरचोकस्थित प्रहरी बिट नजिकै सञ्चालनमा ल्याइएको छ । समाजसेवी रबिन ज्ञवालीले कपडा वितरणलाई व्यवस्थित बनाउन निश्चित समय तोकिएको र स्वच्छ कपडाहरू मात्र वितरण गरिने बताउनुभयो ।

यसअघि दाङकै तुलसीपुरमा पनि कपडा बैंक स्थापना भइसकेको थियो । तुलसीपुरमा स्थापना भएको कपडा बैंकबाट अहिलेसम्म डेढ सय भन्दा बढी व्यक्तिहरूले कपडा प्राप्त गरिसकेका छन् ।
तुलसीपुरमा कपडा बैंकको प्रभाव सकारात्मक रहेको देखिएपछि घोराहीमा पनि यस्तै अभियान थालिएको हो ।
कपडा बैंकको यो अभियानले समुदायमा सहयोग र दान संस्कृतिलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।
अभियानमा स्थानीय युवा, विभिन्न सामाजिक संस्था, व्यवसायी तथा प्रहरी प्रशासन समेतको सहकार्य रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कपडा बैंक स्थापनासँगै सहयोगीदाताहरुले आफ्ना अनुपयोगी तर सफा र प्रयोगयोग्य कपडा दान गर्ने क्रम सुरू भएको छ । घोराही–१४ का नारायणी देवकोटाले अभियानको सराहना गर्नुभयो । ‘तुलसीपुरमा कपडा बैंक स्थापना भएको थाहा पाएपछि सहयोग गर्न इच्छा थियो ।’ उहाँले भन्नुभयो–‘अहिले घोराहीमा स्थापना भएपछि मैले पनि भएको कपडा सहयोग गरेकी छु ।’
समाजसेवी पौडेल र ज्ञवालीले स्थानीय समुदाय, व्यवसायी तथा स्वयंसेवकहरूलाई पनि अभियानमा जोडिन आग्रह गर्दै कपडा बैंकलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि सहयोगको अपिल समेत गर्नुभएको छ ।