२०८१ चैत्र ८ गते शुक्रवार

‘संस्कार सिकाइ मेला’मा विद्यार्थीको सिर्जनात्मकता प्रदर्शन

दाङ, २५ माघ । तुलसीपुरस्थित संस्कार पाठशालाले ‘संस्कार सिकाइ मेला’ आयोजना गरेको छ । मेलामा विद्यार्थीहरूले विभिन्न शैक्षिक सामग्री, वैज्ञानिक आविष्कार, भाषा र व्याकरण सिकाउने मोडेल, चित्रकला तथा स्थानीयस्तरमा पाइने जडिबुटी र खाद्य बालीको नमूना प्रदर्शन गरेका छन् । 

कक्षा ८ मा अध्ययनरत सुप्रिया श्रेष्ठले गणितीय सूत्र सिकाइलाई प्रभावकारी बनाउन विद्युतीय सूत्र बोर्ड निर्माण गर्नुभएको छ । यसैगरी कक्षा ५ का गिनिज भण्डारीले विभिन्न प्राकृतिक दृश्य झल्कने चित्रकला प्रदर्शनीमा राख्नुभएको थियो । 

जसलाई मेलामा उपस्थित अभिभावकहरूले मन पराउँदै खरिद गरे ।  उहाँले आफ्ना चित्रकला बिक्री गरेर १ हजार ५० रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । 

विद्यार्थीहरूको अर्को आकर्षक सिर्जना फोल्डिङ पुलको मोडेल थियो, जसलाई अनमोल पोख्रेल, जेफ श्रेष्ठ र प्रिन्स चौधरीको समूहले निर्माण गरेका थिए । उनीहरूले उक्त पुल लण्डन ब्रिजको मोडेलबाट प्रेरित भएर बनाएको बताए । सो पुल ठूला नदीहरूमा बनाइनेछ, जसले पानीजहाजहरूलाई सहज रूपमा क्रस गर्न दिन्छ ।

सामाजिक प्रदर्शनी अन्तर्गत स्थानीय रूपमा पाइने जडिबुटी, खाद्य बाली, घरेलु सामग्री तथा विभिन्न समुदायले प्रयोग गर्ने वस्तुहरूको प्रदर्शन गरिएको छ । 

प्रदर्शनीमा गणित, विज्ञान, अंग्रेजी, नेपाली, सामाजिक अध्ययन र खाद्य परिकारसम्बन्धी ७ विधागत स्टलहरू राखिएका थिए । विद्यार्थीहरूले व्याकरण सिकाउन ‘टेन्स पार्क’ तथा नेपाली नामका प्रकार बुझाउन रुखको आकृति निर्माण गरेका थिए ।

विद्यालयका शैक्षिक संयोजक बलदेव पोख्रेलका अनुसार शिक्षण शैली परिवर्तन गर्न र विद्यार्थीलाई प्रयोगात्मक सिकाइमा जोड दिन यस्तो प्रदर्शनी आयोजना गरिएको हो । 

‘विद्यार्थीहरूले निर्माण गरेका यी सामग्री कक्षा कोठामा पनि प्रयोग गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो–‘यसले उनीहरूलाई केवल सैद्धान्तिक रूपमा होइन, व्यावहारिक रूपमा पनि सिक्न मद्दत गर्छ ।’

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न परिकारहरू बिक्री गरिएको छ ।  त्यहाँबाट उठेको आम्दानी खर्च कटाएर जुनियर रेडक्रसमा जम्मा गरिने र सामुदायिक विद्यालयमा अध्ययन गर्ने जेहेनदार तथा निम्नवर्गीय विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिने विद्यालयका प्रबन्ध निर्देशक दीप बस्नेतले जानकारी दिनुभयो । 

अभिभावक युवराज वलीले विज्ञानभन्दा बाहेक अन्य विषयहरूमा समेत यति रोचक प्रदर्शनी आयोजना गरिएको देख्दा खुशी लागेको बताउनुभयो । विद्यालयले आगामी वर्ष पनि यस्ता प्रदर्शनीलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस