२०८३ भाद्र १४ गते आइतवार

लैंगिक समानता तथा समावेशीकरण विषयक अन्तरक्रिया


सल्यान, २४ माघ । सल्यानको कपुरकोटमा लैंगिक समानता तथा समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा कपुरकोट गाउँपालिकामा लैंगिक समानता तथा समावेशीकरणसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो ।

वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले सामुदायिक वन क्षेत्रमा लैंगिक समानता तथा समावेशीकरणको महत्वबारे प्रकाश पार्दै महासंघले यस विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले वन क्षेत्रका नीति तथा योजनाहरू सबै समावेशी हुनुपर्नेमा जोड दिँदै स्थानीय सरकार लैंगिक समावेशीकरणका प्रयासहरूमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

डिभिजन वन कार्यालयका मुकुन्द पौडेलले लैंगिक समानता र समावेशीकरणका लागि व्यवहारिक कदम चाल्नुपर्ने बताउनुभयो ।

वन महासंघ सल्यानकी इन्चार्ज प्रेमा अधिकारी, केन्द्रीय सदस्य घनश्याम शर्मा, स्थायी समिति सदस्य मातृका सुवेदी, कपुरकोट बन महासंघका अध्यक्ष खड्ग केसी, पत्रकार महासंघ कर्णाली प्रदेश परिषद सदस्य जितप्रसाद आचार्य लगायतले विशेष गरी नीति निर्माण तहमा महिलाहरूको सहभागिता बढाउनुपर्ने, सामुदायिक वनका नेतृत्वदायी भूमिकामा लैंगिक समावेशिता सुनिश्चित गर्नुपर्ने तथा महिलाहरूलाई निर्णय प्रक्रियामा प्रभावकारी रूपमा संलग्न गराउनुपर्नेमा जोड दिनुभयो ।

कपुरकोट क्षेत्रमा रहेका ५४ सामुदायिक वनका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा लैंगिक समानता तथा समावेशीकरणको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाबारे छलफल गरिएको हो ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस