२०८१ चैत्र ८ गते शुक्रवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोतीविन्दुको शल्यक्रिया सुरु

दाङ, २२ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा मोतीविन्दुको शल्यक्रिया (अपरेसन) सेवा सुरु भएको छ।
प्रतिष्ठानमा लामो समयदेखि आँखाको उपचार हुँदै आए पनि शल्यक्रियाको सेवा उपलब्ध थिएन।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार यसै महिनादेखि मोतीविन्दुको शल्यक्रिया सुरु गरिएको छ। अहिलेसम्म पाँच जनाको शल्यक्रिया भइसकेको उहाँले जानकारी दिनुभयो।

यो सेवा सुरु भएसँगै घोराही, देउखुरी, बङ्गलाचुली, तुलसीपुर, रुकुम, रोल्पा, प्युठान, सल्यानलगायत क्षेत्रका नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ। यसअघि घोराही उपमहानगरपालिका, बङ्गलाचुली गाउँपालिकालगायतका नागरिकहरूलाई आँखाको शल्यक्रियाका लागि तुलसीपुरस्थित रक्षाचौर र लमहीस्थित आँखा अस्पताल जानुपर्ने बाध्यता थियो। अब प्रतिष्ठानमै नियमित रूपमा मोतीविन्दुको उपचार र शल्यक्रिया उपलब्ध हुने सूचना अधिकारी भट्टराईले बताउनुभयो।

यसैबीच, प्रतिष्ठानमा कार्यरत आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीले आइतबारदेखि मोतीविन्दुको शल्यक्रिया सुरु गरिएको जानकारी दिनुभयो। “यसअघि सामान्य उपचार हुँदै आए पनि म आएपछि मोतीविन्दुको शल्यक्रिया सुरु गरिएको हो,” उहाँले भन्नुभयो। डा. रसाइली गत पुस १ गते प्रतिष्ठानमा कार्यभार सम्हाल्नुभएको थियो।

डा. रसाइलीका अनुसार मोतीविन्दुको शल्यक्रियाका लागि न्यूनतम १० हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च लाग्नेछ। “लेन्सको गुणस्तरअनुसार खर्च फरक पर्न सक्छ,” उहाँले बताउनुभयो। प्रतिष्ठानमा आधुनिक प्रविधिको प्रयोग गरी सहज रूपमा शल्यक्रिया गरिने उहाँको भनाइ छ।

हाल प्रतिष्ठानमा अनुहारको हड्डी भाँचिएको उपचार, आँसु नलीको अपरेसन, आँखाको क्यान्सर अपरेसन, कस्मेटिक अपरेसन, जलविन्दु उपचार तथा मोतीविन्दुको शल्यक्रिया भइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस