
दाङ, १८ माघ । दाङ भ्याली माध्यमिक विद्यालय तुलसीपुरका शिक्षकहरूलाई शुक्रबार प्रशिक्षण गरिएको छ । तुलसीपुर–७ स्थित गणेशपुर पार्कमा भएको प्रशिक्षण कार्यक्रममा शिक्षण सिकाईबारे प्रशिक्षण गरिएको हो ।
पूर्व स्रोत व्यक्ति मुकुन्द रिजालले प्रशिक्षण दिनुहुँदै शिक्षकहरूले विद्यार्थीलाई प्रश्न सोध्ने नभई प्रश्न सोध्न सक्ने बनाउनेुपर्ने बताउनुभयो । प्रशिक्षणका क्रममा उहाँले विद्यार्थीको राम्रो बानीको प्रशंसा गर्नुपर्ने भन्दै उहाँले विद्यार्थीलाई सिर्जनशील र आत्मनिर्भर बनाउने शिक्षण पद्धति अपनाउन शिक्षकलाई सुझाव दिनुभयो ।
प्रशिक्षणको क्रममा रिजालले शिक्षकको भूमिकालाई निर्देशकीयभन्दा बढी प्रेरणादायी बनाउनुपर्नेमा जोड दिनुभयो । ‘विद्यार्थीलाई केवल प्रश्न सोध्ने मात्र होइन्, उनीहरू स्वयं प्रश्न सोध्न सक्ने सक्षम बन्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘विद्यार्थी आफैले प्रश्न सक्ने हुँदा सृजनशीलताको विकास हुन्छ ।’
प्रशिक्षक रिजालले शिक्षकहरूको सकारात्मक दृष्टिकोणको महत्वसमेत औंल्याउनुभयो । शिक्षकले विद्यार्थीको राम्रो बानीको प्रशंसा गर्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘यसले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै अझ राम्रो गर्न प्रेरित गर्छ, तर हामीले सधैँ कमजोरी मात्रै औँल्याउने गरेका छौँ ।’
विद्यालयका अध्यक्ष तिलक शाहुले शिक्षकहरूले दक्ष जनशक्ति उत्पादन गर्न शिक्षकले शिक्षकको भूमिका भन्दा प्रेरणदायी खेल्नुपर्नेमा जोड दिनुभयो । ‘शिक्षक समाज रुपान्तरणका संवाहक हुन् ।’ उहाँले भन्नुभयो–‘विद्यार्थीलाई केबल परीक्षामा पास गराउने मात्रै होइन, व्यावहारिक जीवनका लागि सक्षम बनाउन जरुरी छ ।’
प्रशिक्षणले शिक्षकहरूलाई सिकाइको गुणस्तर सुधार, विद्यार्थीको जिज्ञासा वृद्धि र प्रभावकारी पाठ्यक्रम प्रवाह गर्न मद्दत पुग्ने विश्वास गरिएको विद्यालयका प्रधानाध्यापक शिला अर्यालले बताउनुभयो ।