
दाङ, १४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकामा लैंगिक हिंसा निवारण र कुरीति हटाउने उद्देश्यले टोल विकास संस्थाका प्रतिनिधिहरूलाई अभिमुखिकरण गरिएको छ ।
उपमहानगरपालिकाले हिंसाविरुद्धको आवाज उठाउने र कुरीतिहरू अन्त्य गर्न सामुदायिक भूमिका सशक्त बनाउने विषयमा प्रशिक्षण प्रदान गरेको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।
लैंगिक हिंसाका प्रकार, यसको प्रभाव र कानूनी उपचारबारे जानकारी दिनुका साथै, स्थानीयस्तरमा अझै पनि विद्यमान कुरीतिहरूलाई अन्त्य गर्नका लागि टोल विकास संस्थाका पदाधिकारीलाई जिम्मेवार बनाउन अभिमूखिकरण गरिएको उहाँले बताउनुभयो ।
‘लैंगिक हिंसा र कुरीतिहरू हटाउन समुदायको सक्रियता अपरिहार्य छ । टोल विकास संस्थाहरू स्थानीयस्तरमै जनचेतना फैलाउन सक्षम माध्यम हुन् ।’ उहाँले भन्नुभयो–‘यस किसिमका अभिमुखिकरणले समस्या समाधानमा ठोस प्रभाव पार्नेछ ।’
अभिमुखिकरणमा सहभागी टोल विकास संस्थाका प्रतिनिधिहरूले प्रशिक्षणले आफूहरूलाई हिंसाविरुद्ध आवाज उठाउन र समुदायमा चेतना फैलाउन सक्षम बनाएको बताएका छन् ।
सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १, २, ४, ५ र ६ नम्बर वडाका टोलका पदाधिकारीलाई अभिमूखिकरण गरिएको छ । अन्य वडाका टोलका प्रतिनिधिलाई पनि अभिमूखिकरण गर्दै जाने उहाँले बताउनुभयो ।