२०८२ असार ८ गते सोमवार

सगरमाथा विद्यार्थीलाई उद्घोषणमा दक्ष बनाउँदै


दाङ, १३ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलमा आइतबारदेखि उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।

बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल छविकुमार वलीले बताउनुभयो । तालिमबाट विद्यार्थीहरूको उद्घोषण क्षमतामा अभिवृद्धि गर्ने उद्देश्य लिएको उहाँले बताउनुभयो । उहाँले बजारमा बिक्ने र टिक्ने जनशक्ति उत्पादनका लागि उद्घोषण अनिवार्यजस्तै रहेको बताउनुभयो ।

तालिमका प्रशिक्षक बसन्त पौडेलले सफल उद्घोषणका लागि ध्यान दिनुपर्ने कुराहरूमा प्रकाश पार्दै आत्मविश्वास, भाषा चयन र प्रस्तुति शैलीको महत्वबारे जानकारी दिनुभयो । उहाँले स्पष्टता, समय व्यवस्थापन र दर्शकसँगको सम्बन्ध कायम गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

यसैगरी, प्रशिक्षक जीतसागर जी.एमले समाचारको महत्व र समाचार तयार पार्नका लागि आधारभूत पक्षहरूको चर्चा गर्नुभयो । उहाँले समाचारको प्रस्तुति तथ्यहरूको प्रमाणिकता, समसामयिक विषयमा ज्ञानका बारेमा विद्यार्थीलाई मार्गदर्शन गर्नुभयो ।

तालिमबाट विद्यार्थीहरूलाई आफ्नो व्यक्तित्व विकास र सञ्चार क्षमतामा सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको प्रिन्सिपल वलीले बताउनुभयो । तालिममा सहभागी विद्यार्थीहरूले उद्घोषण र समाचार लेखनका नयाँ प्रविधिहरू सिक्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् ।

सगरमाथा बालबाटिका बोर्डिङ स्कुलले यस्तो खालका कार्यक्रमहरू निरन्तर सञ्चालन गरेर विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्दै आएको स्कुलका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस