
दाङ,१२ माघ । ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत सञ्चालित ज्ञान दीप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले रोल्पा पुगेर खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।
त्रिवेणी गाउँपालिका वडा नम्बर २ दहवनमा रहेको भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री तथा पाठ्यपुस्तक विद्यालयमै पुगी प्रदान गरेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा ज्ञानज्योति कलेजका शैक्षिक संयोजक शरद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले विद्यालयले विभिन्न समयमा विकट क्षेत्रमा रहेका विद्यालयहरूलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्रीहरू वितरण गर्दै आएको बताउनुभयो विद्यार्थीहरूद्वारा प्रदान गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको शिक्षा सिकाई तथा खेलक्षेत्रमा सहयोगी भुमिका खेल्ने बताउनुभयो ।
व्यवस्थापन समिति अध्यक्ष खड्काले दाङबाट रोल्पासम्म आएर विद्यार्थीहरूका लागि विभिन्न सामग्रीहरू प्रदान गरेकोमा विद्यालय र विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि सञ्चालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष ओम प्रकाश थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रकला रोका, उप प्राध्यापक रमेश नकाल लगायतले मन्तव्य राख्नुभएको थियो । भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ज्ञान ज्योति कलेजका प्राध्यापक सन्तोष केसीले गर्नुभएको थियो ।