
रोल्पा, १० माघ ।
रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मेलतारीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ५७४२ नम्बरको डबल क्याप जिप गंगादेव गाउँपालिका–१, बिवाङ सडकखण्ड अन्तर्गत चैतेकाफल भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी गाडिमा सवार सोही ठाउँका अर्जुन घर्तीका १४ वर्षका छोरा उमेश घर्तीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।
जिप सडकदेखि ८० मिटर तल खस्दा गाडीमा सवार अन्य ८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी रोल्पाको त्रिवेणी गाँउपालिका – ७ बजवाङ बस्ने २२ वर्षका बगबिर खत्री, रोल्पाको गंगादेव गाउँपालिका–१ बिवाङ बस्ने १५ वर्षकी लक्ष्मी भण्डारी, सोहि ठाउँका १५ वर्षका भागिराम वली, सोहि ठाउँका १७ वर्षिय सुमन वली घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै १६ वर्षकी चन्द्रा डाँगी, १७ वर्षकी अनिता डाँगी, १६ वर्षकी बसन्ती डाँगी र १८ वर्षका देवराज डाँगी घाइते भएका छन् । घाइते मध्ये बगबिर खत्रीको अवस्था गम्भिर रहेको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ ।
जिप चालक रोल्पा गंगादेब गाँउपालिका वडा नं. १ ओतका २३ वर्षका पुर्ण बहादुर ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडिमा चालक सहित जम्मा १० जना सवार रहेको प्रहरीले जनाएको छ ।
तस्बिर : पत्रकार बुद्धिमान वलीको फेसबुकबाट