२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर बृहत सिकाई मेला : विश्व बजारमा प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादनमा जोड

दाङ, २८ पुस । तुलसीपुरमा आइतबार बृहत सिकाइ मेला गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको सहयोग र समन्वयमा तुलसीपुर–१ भ्यूडहर सुनपुरमा रहेको बिरेन्द्र माध्यमिक विद्यालयले तुलसीपुर बृहत सिकाई मेला आयोजना गरेको हो ।

सिकाई मेलाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्नुभएको हो । मेलाको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख खड्काले सामुदायिक विद्यालयका शिक्षकले अंग्रेजी माध्यममा पढाउन तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले विश्व बजारमा प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्न र संस्थागत विद्यालयसंग प्रतिष्पर्धा गर्नका लागि अब सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाउनुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थी विदेश पलायन भइरहेकोबारे चिन्ता व्यक्त गर्दै स्वदेशमै पनि धेरै संभावना भएकाले अध्ययनका लागि विदेश गएपनि स्वदेशमा फर्किनुपर्नेमा जोड दिनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले आमाबुवाको योगदान भुल्ने संस्कारको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले छोराछोरीको भविष्यका लागि बुवाआमाले ठुलो योगदान गर्ने हुँदा छोराछोरी बुवाआमाको सहारा बन्नुपर्ने बताउनुभयो ।

यस्तै प्रमुख वक्ताको रुपमा आएका वरिष्ठ पत्रकार टिकाराम यात्रीले प्रविधिको सहि सदुपयोग गरेमा ज्ञान हासिल गर्न सकिने बताउनुभयो । उहाँले जस्तो क्लिक गर्‍यो, त्यस्तै सामग्रि दिने गरेकाले गलत कुरा कहिले पनि क्लिक गर्न नहुने बताउनुयो ।

मेलामा तुलसीपुरमा रहेका सामुदायिक र संस्थागत विद्यालयबाट सहभागीता रहेको थियो । सहभागी विद्यार्थीले विभिन्न सामग्रि प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले सिर्जनात्मक र प्राविधिक सामग्रीहरूको प्रदर्शन गरेका छन् । प्रदर्शनीमा विज्ञान, कृषि, प्रविधि र वातावरण संरक्षणसँग सम्बन्धित परियोजना तथा मोडेलहरू प्रस्तुत गरेको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउनुभयो ।

विद्यार्थीहरूले वातावरणीय संरक्षणका उपायहरू, स्वच्छ ऊर्जा प्रविधि तथा दैनिक जीवनमा उपयोगी विज्ञानका सिद्धान्तहरूलाई प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले पुनः प्रयोग गर्न सकिने वस्तुहरूको सिर्जनशील प्रयोग, सौर्य ऊर्जा उपकरण र स्मार्ट कृषि प्रविधि जस्ता नवप्रवर्तनलाई विशेष रूपमा प्रस्तुत गरेका छन् । मेलामा तुलसीपुरमा ६० बढी विद्यालयले सहभागीता जनाएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लु प्रसाद न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक टोप बहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण डा. जित बहादुर गिरीले गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस