
दाङ, २७ पुस ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तुलसी थापाले कार्यक्रम : सुनौलो भविष्य’ गाउँ–गाउँमा लैजान आग्रह गर्नुभएको छ । तुलसीपुर–४ को ठुलाखालीमा शनिबार भएको कार्यक्रममा उहाँले बालबालिकालाई असल बनाउन अभिभावकलाई दिने सचेतनाको प्रशंसा गर्नुभयो ।
उहाँले भोलिको सुन्दर समाज निर्माणका लागि आजका बालबालिकालाई संस्कारयुक्त शिक्षा आवश्यक रहेको बताउनुभयो । यसका लागि दाङ भ्याली मावि र रेडियो हाम्रो पहुँचले थालेको संयुक्त कार्यक्रम निकै शिक्षामूलक रहेको बताउनुभयो । उहाँले वडाले आगामी दिनमा अभिभावकिय शिक्षाका लागि आवश्यक लगानी गर्ने बताउनुभयो ।
यस्तै दाङ भ्याली माविका अध्यक्ष तीलक साहुले अभिभावकको असल संस्कारले बालबालिकाको भविष्य सुन्दर हुने भएकाले अभिभावकले रहनसहनमा ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकिय शिक्षामार्फत बालबालिकालाई असल र नैतिकवान बनाउन कार्यक्रम : ‘सूनौलो भविष्य’ परिकल्पना गरिएको बताउनुभयो ।
ठुलाखालीमा भएको कार्यक्रममा सहभागीले अभिभावक, बालबालिका र शिक्षक तीनै जनाको त्रिकोणात्मक सम्बन्धले असल र नैतिकवान बालबालिका बनाउन सकिने बताएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार रीता केसीले गर्नुभएको हो ।