
तुलसीपुर,२४ पुस । तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ विरेन्द्रचोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर–५ सम्झना टोलकी ३९ वर्षकी तिर्सना घर्ति मगरको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक विनोदराज खत्रीले आज(बुधबार) दिउँसो पौने दुई बजेतिर तुलसीपुर–५ नयाँ बसपार्क स्थित माछापुच्छ्रे गेट नजिकै बसले घर्तिलाई ठक्कर दिएको बताउनुभयो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी घर्तिलाई उपचारका लागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै उपचारकै क्रममा सवा २ बजेतिर मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । मृतक महिलाको शबलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै राखिएको छ ।
ठक्कर दिने बस र बसका चालक तुलसीपुर–६ का ४२ वर्षका खेमराज ओली प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।