२०८२ असार ३ गते बुधवार

कक्षा–३, विद्यार्थी–२

दाङ, १६ पुस । कोठाको भित्ता बाख्राले सिङ्गौरी खेलेर भत्काए जस्तो छ । वषौदेखी मर्मत सम्भारको काम नभएजस्तो,मानौ यहाँ कोही बस्दनैन् ।

छेउमै मोटरबाटो, छिनछिनमै गाडीहरु हुइकिन्छन् । साँघुरो बाटो त्यसैमाथी गाडीको हुटमासमेत यात्रुहरु टनक्कै बसेर ओहोरदोहोर गरेको दूश्य नियाल्छन् कक्षा कोठाबाट विद्यार्थीहरु ।

गाडिले उडाएको धुलोको केहि अंश उनै हुटमा चढेका यात्रुले लिन्छन्,अनि केही धुलो त्यही मोटरबाटोको छेउमै रहेको विद्यालयमा पढिरहेका विद्यार्थीलाई छोडेर गाडी गन्तव्यमा लाग्छन् ।

यो क्रम दिनहुँ निरन्तर चलिरहन्छ । अध्ययनरत विद्यार्थीहरु न धेरै साथीभाईसंग घुलमिल हुन पाएका छन्, नत सहज तरिकाले पढ्न नै पाएका छन् । कक्षा ३ मा एक घरका दुई दिदि बहिनी छन् । उनिहरु एकदिन विद्यालय नआए त्यो दिन कक्षा शुन्य रहन्छ ।

यो दृश्य हो दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्री कल्लेकोट सातवासमा रहेको प्राथमीक विद्यालयको । संगिता थापा र कविता चौधरी यही विद्यालयको कक्षा ३ मा अध्ययनरत दुई दिदि बहिनी हुन् ।

संगिताको सानी आमाको छोरी हुन कविता । संगिता अहिले ९ वर्षकी भइन भने कविता ८ वर्षकि छिन्. कविताको घर बाँकेको नेपालगञ्ज हो ।

कविताका बावु–आमा ज्याला मजदुरीका लागी भारतमा गएपछि उनि ठुलीआमाको घर सल्यानको कपुरकोट गाँउपालिका–३ लामीडाँडामा बसेर दाङमा अध्ययन गरिरहेकी छन् ।

कवितासहित कक्षा ३ मा चालु शैक्षिक शत्रमा यो विद्यालयमा पाँच जना भर्ना भएका थिए । तर तीन जनाले भने शैक्षिक शत्रको विचमै विद्यालय छोडीसकेका छन् ।


उनिहरु सल्यानबाट दैनिक एकदेखि डेढ घन्टाको बाटा पैदल हिँडेर तुलसीपुरमा रहेको यो विद्यालयमा पढ्न आउँछन् ।

नजिकमा विद्यालय नहुँदा पहाडी बाटोको चुनौतीपूर्ण यात्रा र थकानले गर्दा उनीहरूको पढाइसमेत प्रभावित हुने गरेको अभिावक निशा थापा बताउनुहुन्छ । ‘आजभोली बिहान उठ्दा नउठ्दै स्कुल जाने समय भैहाल्छ । हतार–हतारमा खाना खाएर आठदेखि साढे आठको बिचमा विद्यालय पठाउनै पर्छ,नत्र उनिहरु समयमै स्कुल पुग्न सक्दैनन्‌– उहाँले भन्नुभयो–‘साँझमा पनि झिसमिसेमा थाकेर आइपुग्छन । थाकेर आएकाले होमर्क गर भनेको मान्दैनन् खाना खाएपछि होमर्क नै नगरी लुटुक्क निदाउँछन् ।’

विद्यालयमा चालु शैक्षिक शत्रमा वालविकासदेखि कक्षा ५ सम्म ४८ जना विद्यार्थी भर्ना भएका थिए । गतवर्षको तुलनमा अहिलेको विद्यार्थी सख्या १० जनाले कम हो ।

दैनिक विद्यालय आउने विद्यार्थीको संख्या भने आधाले कम छ । अर्थात करिव जना नियमित विद्यालय आउने गरेका छन । नियमित आउने विद्यार्थी मध्यपनि १५ जना सल्यानको लामीडाडा र बाख्रेखोला गाँउका छन् ।

विद्यालयको भौतिक संरचना समेत जिर्ण अवस्थामा छ । कक्षा कोठाको अपुग भएपछि बालविकास र कक्षा एकलाई गाभेर बहुकक्षा शिक्षण सञ्चालन भैरहेको छ।

सल्यानको लामीडाँडा,बाख्रेखोला,दाङपानी,धैरेनि,सहित तुलसीपुरको सातवास,कल्ले।बल्ले लगाएतका क्षेत्रबाट यो विद्यालयमा विद्यार्थी पढ्न आउने गरेका छन् ।

आफुले पढ्दाको विगतलाई सम्झदै अभिभावक शारदा गिरी भन्नुहुन्छ–‘हामीहरु पढ्दा करिब तीनसय विद्यार्थीहरु हुन्थे खै आजभोली अलिअलि पैसा कमाउने भएर होकी ? सबैले अन्यत्र पढाउन थाले, यहाँ त केवल ज्याला मजदुरी र बाबु आमाको सहारा नभएका धेरैजसो बालबालीका मात्रै देख्छु ।’

विद्यार्थी संख्या कम भएको सूचना सञ्चारमाध्यममा प्रकाशन भए कतै हाम्रो विद्यालय झनै बन्द हुनेत होइन भन्नेमा अभिभावकहरु त्रसित छन् ।

विद्यालयले गुणस्तरीय शिक्षा र आधारभूत सुविधा उपलब्ध गराउन सके अझै विद्यालयको अवस्था सजिलै सुधार्न सकिने ६५ वर्षिय अभिावक कर्मि रोका बताउनुहुन्छ । विद्यालयको भौतीक संरचनामा स्थानीय सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

विद्यार्थी संख्या वृद्धिका लागि आफुहरु तयार भएपनि विकट क्षेत्रमा राज्यको नजर पर्न नसकेको उहाँले गुनासो गर्नुभयो ।

संविधानमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक तथा सर्वाङ्गिण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको छ । तर बालबालिकाहरूले दैनिक रुपमा यसरीे लामो दूरी पार गर्नु, उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्ने स्वास्थ्यका जानकारहरु बताउछन् ।

विद्यालयमा आधारभूत पूर्वाधार र शैक्षिक गुणस्तरको कमी पनि मुख्य समस्या हो। जसका कारण अभिभावकहरूको असन्तोषले गर्दा विद्यार्थी अन्य विद्यालयतर्फ जाने क्रम बढिरहेको छ ।

तर प्रधानाध्यापक टेकराज गुरुङ भने यसमा सहमत हुनुहुन्न ।विद्यालयमा हरेक वर्ष विद्यार्थीको संख्या घट्नुको मूख्य कारण अभिभावकहरु रोजगारका लागि विदेश जाने वा सहरी क्षेत्रमा बसाइँ सरेर जाने गरेको बताउनुहुन्छ ।

उहाँका अनुसार अन्य नजिकका क्षेत्रहरूमा नयाँ निजी विद्यालयहरू खुल्दा अभिभावकहरूले आफ्ना छोराछोरीलाई त्यता पठाउन थालेकाले हरेक वर्ष विद्यार्थी संख्या घटेको दावि गर्नुहुन्छ ।

विद्यालयमा पर्याप्त कक्षाकोठा, पिउने पानी, शौचालय, खेलकुदका साधनलगायत आधारभूत सुविधाको अभावले गर्दा विद्यार्थीहरू वैकल्पिक विद्यालय रोज्न बाध्य भएको प्रधानाध्यापक गुरुङले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकामा मात्रै ८३ वटा सामुदायीक विद्यालयहरु रहेका छन्. ग्रामिण भेगका अधिकांश विद्यालयहरुको हालत उस्तै छ ।सरकारको निति जहाँ विद्यार्थी त्यहाँ लगानीको नितिले दुर्गम क्षेत्रमा केही प्रभाव पर्ने गरेकाले भौतीक पुर्वाधारको क्षेत्रमा लगानी हुन नसकेको शिक्षा शाखा प्रमुख प्रमुख चक्रबहादुर भण्डारी स्विकार्नु हुन्छ ।

तर दुर्गम क्षेत्रका विद्यालयहरुलाई सिकाई केन्द्रकै रुपमा विकास गर्नेगरि पुर्वाधार र शैक्षिक सुधारका लागि पालिकाले योजनावद्ध रुपमा काम गरिहेको प्रमुख भण्डारीले बताउनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्ने क्रम चलिरहँदा,कतिपय विद्यालय छिमेकी विद्यालयमा गाभिएका छन् । तर दुर्गम क्षेत्रमा भने, विद्यार्थी सङ्ख्या थोरै भएपनि, बालबालिकाहरु शिक्षाको अधिकारबाट वञ्चित नहुने व्यवस्था सरकारले मिलाउनुपर्छ ।–रेडियो हाम्रो पहुँचबाट साभार

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस