
तुलसीपुर,१५ पुस । तुलसीपुर उपमहानगरपालिका–७, मोतिपुरमा रहेको एकता मोतिपुर टोल विकास संस्थाले निर्माण गरेको नयाँ सामुदायिक भवनको उद्घाटन तथा सास्कृर्तिक कार्यक्रम गरिएको छ ।
संस्थाका अध्यक्ष छोटीलाल थारुको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लिबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीको विशिष्ट भवनको उद्घाटन गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री चौधरिले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

उहाँले सामुदायीक भवन निर्माणले समुदायलाई एकजुट बनाउन र स्थानीय संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकासका लागि सामाजिक एकता अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
उहाँले गाउँघरमा सार्वजनिक जमिन अतिक्रमणको समस्या बढिरहेको बेला टोल विकास संस्थाले महत्वपूर्ण र उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्नुभएको थियो ।

विशिष्ट अतिथि वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीले संस्कृतिको संरक्षणमा स्थानीय सरकार सधै सङ्गै रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले संस्कृतिका विविध पक्षहरूको संरक्षण र प्रवर्धनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै, हाम्रो परम्परा र संस्कृतिलाई आगामी पीढीमा हस्तान्तरण गर्नका लागि निरन्तर प्रयास गरिएको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष वर्षत भण्डारीले विकास र निर्माण कार्यमा कुनै पनि दल वा राजनीतिक भेदभाव हुनु नहुने धारणा राख्नुभयो ।
उहाँले, विकासका कार्यहरू कुनै पनि पार्टी वा विचारसँग नजोडी,स्थानीय सबैको सहयोग र एकता आवश्यक रहेको स्पष्ट पार्नुभयो । लुम्बिनी प्रदेश सरकारकोे तर्फबाट २५ लाख र संस्थाको ५ लाखसहित कुल ३० लाखको लागतमा भवन निर्माण गरिएको संस्थाका कार्यक्रम संयोजक दामु चौधरीले बताउनुभयो ।

मिलन क्लवका संस्थापक अध्यक्ष सुर्य बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव निर्मल शर्माले गर्नुभएको थियो ।