२०८२ जेष्ठ २९ गते बिहिवार

संस्कारयुक्त बालबालिका बनाउन अभिभावकलाई जिम्मेवार हुनुपर्नेमा जोड


दाङ, १३ पुस । बालबालिकालाई शिक्षासंगै असल र नैतिकवान बनाउन अभिभावक जिम्मेवार बन्नुपर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।


तुलसीपुर–९ बेलुवामा आयोजना गरिएको रेडियो कार्यक्रम ‘सुनौलो भविष्य’ मा सहभागीहरुले बालबालिकालाई असल बनाउन अभिभावक पनि असल बन्नुपर्ने बन्नुपर्नेमा जोड दिएका हुन् ।

अभिभावकले शिक्षामा लगानी गरेपनि असल संस्कार सिकाउन नसक्दा बालबालिका गलत बाटोमा लाग्ने गरेको उनीहरुको भनाई छ । कार्यक्रममा अमृत नगर टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त भण्डारीले बालबालिकालाई महंगो शैक्षिक संस्थामा पढाएरमात्रै नहुने भन्दै असल अभिभावकले बालबालिकालाई घरमा असल संस्कार पनि सिकाउनुपर्ने बताउनुभयो ।

उहाँले बालबालिकाको भविष्य सुनौलो बनाउन शिक्षासंगै घरमा अभिभावकले पनि व्यावहारिक ज्ञान सिकाउनुपर्ने बताउनुभयो । यस्तै बालबालिकाको सवालका विषयमा टोलमा छलफल समेत नहुने गरेको र अबदेखि बालबालिकाका सवाललाई समेटेर जिम्मेवार र असल अभिभावक बनाउन पहल थाल्ने बताउनुभयो ।

यस्तै शिवज्योति टोल विकास संस्थाका अध्यक्ष लाल बहादुर वलीले बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि अभिभावकले असल भूमिका निर्वाह गनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय अभिभावक व्यस्त हुँदा बालबालिकाले समय नपाउने र उनीहरु गलत बाटोमा लाग्न सक्ने जोखिम बढेकाले अभिभावकले बालबालिकालाई घरमा पर्याप्त समय दिनुपर्ने बताउनुभयो ।

दाङ भ्याली माविका अध्यक्ष तिलक साहुले बालबालिकालाई असल र नैतिकवान बनाउन घरमा असल संस्कारको विकास हुनुपर्ने बताउनुभयो । उहाँले अभिभावकको क्रियाकलापकै आधारमा बालबालिकाको चरित्र निर्माण हुने भएकाले अभिभावक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले फल राम्रो हुन बोट राम्रो हुनुपर्ने भन्दै असल अभिभावक निर्माणका लागि कार्यक्रम : सुनौलो भविष्यको परिकल्पना गरिएको बताउनुभयो ।

यस्तै दाङ भ्याली माविका प्रधानाध्यापक शिला अर्यालले बालबालिकाले मोबाइलको प्रयोग अत्याधिक गर्न थालेकाले अभिभावक सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले मोबाइलबाट पनि धेरै ज्ञानका कुरा सिक्न सकिने भएकाले मोवाइलको सहि सदुपयोग गराउन अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो ।

रेडियो कार्यक्रम : ‘सुनौलो भविष्य’ दाङ भ्याली मावि तुलसीपुर र रेडियो हाम्रो पहुँचको संयुक्त कार्यक्रम हो । कार्यक्रमको दोस्रो भाग आज तुलसीपुर–९ बेलुवाको दाजुभाई चोकमा तयार पारिएको हो । विकासपुर टोल विकास संस्थाका अध्यक्ष मोतिराम वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यो कार्यक्रम रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जबाट हरेक साताको शुक्रबार बेलुका ५ : १० देखि ५ः४० सम्म सुन्न सकिन्छ भने रेडियो हाम्रो पहुँचको आधिकारिक फेसबुक पेज हाम्रो पहुँचबाट हेर्न र सुन्न पनि सकिने छ ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस