
दाङ, ७ पुस । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा तुलसीपुर-११ का ३१ वर्षिय पंकज खत्री र रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ का ३१ वर्षिय दिल प्रसाद खत्री गम्भिर घाइते हुनुभएको हो ।
घाइते दुवै जनालाई तुलसीपुरमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-अमिलिया सडकखण्डको तुलसीपुर-१२ टरिगाउँ एयरपोर्ट नजिक तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल आज दिउँसो करिब ४ बजेतिर आफै अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । घाइतेमध्ये पंकजलाई धेरै चोट रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार