
दाङ, ६ पुस । दाङको तुलसीपुरमा रहेको दाङ भ्याली माध्यमिक विद्यालयले गाउँ-गाउँमा पुगेर अभिभावकलाई शिक्षा दिन थालेको छ ।
विद्यालयले रेडियो हाम्रो पहुँचसंगको सहकार्यमा बालबालिकाको शैक्षिक विकासका लागि अभिभावकलाई सचेतना दिन ‘सुनौलो भविष्य’ नामक कार्यक्रमको शुभारम्भ गरेको हो ।
विद्यालयले आज तुलसीपुर-६ बरुवागाउँको राप्ती बबई टोलमा पुगेर ‘सुनौलो भविष्य’ नामक कार्यक्रम संचालन गरेको विद्यालयका संस्थापक प्रधानाध्यापक तिलक साहुले बताउनुभयो ।
उहाँले बालबालिकालाई विद्यालयमा मात्रै नभएर घरमा पनि अभिभावकले समय दिनुपर्ने भन्दै बालबालिकाको शैक्षिकसंगै समग्र विकासमा अभिभावकले गम्भिरतापूर्वक चासो दिनुपर्ने बताउनुभयो ।
घर पहिलो पाठशाला भएकाले बालबालिकाको शैक्षिक विकासका लागि अभिभावकले घरमा पनि समय दिनुपर्ने उहाँको भनाई छ । उहाँले बालबालिकामा शिक्षासंगै असल संस्कारको विकास गर्न अभिभावकको भूमिका प्रमुख हुने बताउनुभयो ।

टोल विकास संस्थाका अध्यक्ष प्रेम कवँरको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अभिभावक माया पोखरेलले बालबालिकालाई घरमा अभिभावकले समय दिन नसक्दा गलत संगतमा पर्न सक्ने बताउनुभयो ।
उहाँले विद्यालयले दिन थालेको अभिभावकिय शिक्षाले असल र नैतिकवान जनशक्ति उत्पादनमा महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
‘सुनौलो भविष्य’ रेडियो कार्यक्रम हो । यो कार्यक्रम रेडियो हाम्रो पहुँचबाट प्रत्येक साताको शुक्रबार प्रशारण हुन्छ भने सामाजिक संजाल फेसबुकबाट हेर्न पनि सकिने संस्थापक प्रअ साहुले बताउनुभयो ।