
चुलो भन्ने बित्तिकै धेरैलाई धुवाँको स्मरण हुन्छ । अझ ग्रामिण क्षेत्रका हरेक भान्साको चुलोमा दाउरा नै प्रयोग हुने भएकाले पनि धुवाँ बिनाको भान्सा कमै मात्रामा हुने गरेका छन् ।
यही समस्याको समाधानका लागि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेका एक युवा लामो समयदेखि अहोरात्र लागिरहनु भएको छ ।
उमेरले ३७ वर्ष पुगेका इश्वरी प्रसाद घर्ती मगरको नाम लिने बित्तिकै धेरैले चुलो सम्झिन्छन् । किनभने उहाँले धुँवामुक्त भान्साका लागि परम्परागत चुलोलाई विस्थापित गरी आधुनिक चुलो व्यवस्थापनको अभियान थालेको लामो समय भयो ।
गाउँदेखि सहरसम्मका भान्सालाई धुँवामुक्त बनाउनका लागि उहाँ विगत १५ वर्ष अघिदेखि निरन्तर अभियानमा लाग्नुभएको छ ।

२०६६ सालमा सुधारिएको चुलोको प्रवर्द्धनबाट यात्रा सुरु गर्नुभएका इश्वरी प्रसादले धुँवाको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई मध्यनजर गरी यस क्षेत्रमा काम गर्न थाल्नुभएको हो ।
ग्रामीण क्षेत्रका महिलाहरूले भान्सामा भोग्नुपरेका समस्याहरू अन्त्य गरी धुवाँमुक्त भान्सा बनाउन उहाँको अभियान शुरु भएको थियो ।

सुधारिएको चुलोले प्रारम्भिक सफलता पाएपछि इश्वरीले आफ्नो अभियानलाई विस्तार गर्नुभयो । उहाँले भान्सालाई अझ आधुनिक र सुविधाजनक बनाउने सोचका साथ विद्युतीय चुलो प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुभयो ।
विद्युतीय चुलोले धुँवा हटाउने मात्र नभई खाना पकाउने प्रक्रियालाई सहज, समयसापेक्ष र सुरक्षित बनाउने उहाँको विश्वास छ ।
यसरी शुरु भयो अभियान
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ जामुनेमा जन्मीएका इश्वरीले आफ्नो करियरको शुरुवात दलित विकास संस्था सल्यानबाट गर्नुभएको हो ।
उहाँले शुरुमा ग्रामिण क्षेत्रका भान्सामा रहेका परम्परागत चुलोलाई विस्थापन गरी सुधारिएको चुलो स्थापित गर्नुभयो । सुधारिएको चुलोमा दाउराको प्रयोग नै भएपनि धुवाँ भने धेरै कम हुन्छ ।
त्यसैकारण पनि सुधारीको चुलो प्रयोग र महत्व बढ्दै गयो । अनि इश्वरीले सल्यानका विभिन्न ग्रामिण क्षेत्रमा सुधारिएको चुलो बनाउनुभयो । जसले गर्दा गृहणीले धुवाँको समस्याबाट मुक्ति पाए ।
त्यसपछि सेन्टर फर रुरल टेक्नोलोजी नेपालमा कोर्डिनेटरको रूपमा काम गर्ने अवसर प्राप्त भयो । अनि उहाँको कार्यक्षेत्र सल्यानमात्र सिमित रहेन । धुँवामुक्त भान्साको अभियानलाई उहाँले सुदूरपश्चिमको बैतडीमा चार वर्षसम्म सञ्चालन गर्नुभयो ।
त्यसपछि उहाँलाई गण्डकी प्रदेशको बागलुङमा बसेर काम गर्ने अवसर प्राप्त भयो । त्यतिबेला उहाँले अर्घाखाँची जिल्लामा कोर्डिनेटरको रूपमा भूमिका निर्वाह गर्नुभयो ।
यस क्रममा, उहाँले धुँवा रहित चुलोका फाइदाबारे स्थानीय बासिन्दालाई सचेत गराउँदै र प्रविधिको प्रयोग सिकाउँदै अभियानलाई अगाडि बढाउनुभयो । समयक्रम बदलिएजस्तै उहाँको योजना पनि अझ प्रभावकारी बन्दै गए ।
२०७६ सालमा सुधारिएको चुलोभन्दा वायु पंखी चुलोको प्रवर्द्धनमा लाग्ने निणर्य गरेपछि उहाँले क्लिन इनर्जी एण्ड इन्भाइरोमेन्ट डेभलपमेन्ट प्रालि सञ्चालन गर्ने निधो गर्नुभयो ।
उहाँ अहिले यस कम्पनीको म्यानेजिङ डाइरेक्टरको रूपमा कार्यरत रहनुभएको छ । वायुपंखी चुलोले ग्रामीण क्षेत्रमा दाउराको प्रयोग घटाएको छ भने खाना पकाउने प्रक्रियालाई पनि सुरक्षित बनाएको छ ।
पछिल्लो समय, इश्वरीले विभिन्न संघ-संस्थासँग सहकार्य गर्दै विद्युतीय चुलोलाई गाउँगाउँमा पुर्याउने अभियान सञ्चालन गरिरहनुभएको छ । विद्युतको कम पहुँच भएका ग्रामीण क्षेत्रमा वायुपंखी चुलो प्रवर्द्धन गर्दै सहरी क्षेत्रमा इण्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहन गरिरहनुभएको छ ।
अहिलेसम्म उहाँले करिब २० हजार घरधुरीमा चुलो व्यवस्थापन गर्न सफल हुनुभएको छ ।

यो यात्रा सहज भने थिएन । ग्रामीण क्षेत्रमा जनचेतनाको कमी, आर्थिक अभाव र पुराना परम्परागत प्रथाहरू उहाँका लागि चुनौती बने । तर यी चुनौतीहरूलाई इश्वरीले आफ्नो संकल्प र लगनशीलताले पार गर्दै आफ्नो उद्देश्यलाई निरन्तर अघि बढाइरहनुभयो ।
‘भान्साको धुँवा हटाउनु भनेको स्वास्थ्य रक्षा गर्नु हो ।’ उहाँ भन्नुहुन्छ-‘यसले ऊर्जा संरक्षण र वातावरणीय सन्तुलनमा समेत योगदान पुर्याउँछ ।’ उहाँले थालेको अभियानले केवल स्वास्थ्यमा सुधार मात्र ल्याएको छैन् । वन क्षेत्रको संरक्षण र जलवायु परिवर्तनको असर न्यूनिकरणमा पनि महत्वपूणर् भूमिका खेलेको छ ।
विद्युतीय चुलोको प्रयोगले महिलाहरूको श्रम घट्नुका साथै बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ । अब, इश्वरी प्रसादको लक्ष्य प्रत्येक घरमा विद्युतीय चुलो पुर्याउनु र धुँवामुक्त समाज निर्माण गर्नु हो । यो प्रयासले ग्रामीण क्षेत्रका महिलाहरूलाई समय र श्रम बचत गर्न सहयोग पुर्याएको छ ।
इश्वरी प्रसादले आफ्नो अभियानलाई विस्तार गर्ने क्रममा सहरी क्षेत्रलाई पनि प्राथमिकता दिनुभएको छ । सहरी क्षेत्रमा बढ्दो इन्धनको मूल्य र वातावरणीय प्रभावलाई मध्यनजर गर्दै उहाँले इन्डक्सन चुलोको उपयोगलाई प्रोत्साहित गरिरहनुभएको छ । सहरी क्षेत्रका परिवारहरूले विद्युतीय चुलोलाई स्वागत गर्दै आफ्नो दैनिक जीवनलाई थप सरल बनाएका छन् ।
रोजगारीका लागि धेरै युवा विदेशिरहेको अवस्थामा इश्वरी प्रसाद स्वदेशमै केहि गरौँ भन्ने सोचका साथ आफूमात्र होइन अरुलाई पनि रोजगारी दिन सफल हुनुभएको छ । अहिले पनि उहाँले ७ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ भने १ सय जनाभन्दा धेरै स्वरोजगार बनेका छन् ।
इश्वरी प्रसाद घर्ती मगरको यो प्रयासले व्यक्तित्वको पहिचान मात्र दिँदैन् ।
सामाजिक रूपान्तरणको उदाहरण पनि प्रस्तुत गदर्छ । उहाँजस्ता समर्पित व्यक्तिहरूले नै समाजलाई सकारात्मक दिशामा लैजान महत्वपूणर् भूमिका खेल्छन् । उहाँको यो अभियानले भौगोलिक, आर्थिक र सांस्कृतिक विविधतामा भरिपूणर् नेपालको ग्रामीण र सहरी दुबै क्षेत्रमा स्थायी परिवर्तन ल्याउन प्रेरणा प्रदान गरेको छ ।