
दाङ, १ पुस । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तीर्थी थारुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाका अनुसार आज बिहान ६ बजे लमही-कोहलपुर सडकखण्ड अन्तरगत लमही नगरपालिका-९ च्याउखोला नजिक कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको विंगर गाडी मिनी बस अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा परि अरु १२ जना घाइते भएका छन् । दुर्घटनामा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएको डिएसपी थापाले बताउनुभयो ।
घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा रहेको शवगृहमा राखिएको छ । चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।