
दाङ, २६ मंसिर । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले न्युनतम सेवा सुधारमा प्रगति गरेको छ । अस्पतालले न्यूनतम सेवा मापदण्ड अन्तर्गतका विभिन्न सूचक पूरा गरेर यसपटक थप प्रगति हासिल गरेको हो ।
लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनमा अस्पतालले विभिन्न मूख्य तीन सूचक सुधार गरेर ८८ अंक ल्याएको हो । अस्पतालले गतवर्ष भन्दा ३ अंक थप प्रगति गरेको हो । निर्देशनालयका नर्सिङ निर्देशक दुर्गालक्ष्मी श्रेष्ठले अस्पतालले गतवर्ष ८५ अंक ल्याएकोमा यसपटक न्यूनतम सेवा सुधार गरेर ८८ पुर्याएको बताउनुभयो ।
उहाँका अनुसार अस्पतालले स्वास्थ्य जाँच, औषधि वितरण, आपतकालीन सेवा लगायतमा सुधार गरेको छ । निर्देशनालयले तयार गरेको न्यूनतम सेवा मापदण्डमा अस्पतालले आफ्नो सेवा सुधार गर्दै लगेको उहाँले बताउनुभयो ।
२०७९ मा गरिएको अनुगमनमा अस्पतालले ८४ प्रतिशत अंक ल्याएको थियो । अस्पतालले पछिल्ला वर्षमा सेवामा सुधार गर्दै लगेको होे । अस्पतालले आपतकालीन सेवा, नियमित उपचार र प्रयोगशाला सेवा प्रभावकारी बनाउँदै लगेको उहाँले बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पदमराज अधिकारीले अस्पतालको सेवा प्रवाह, व्यवस्थापन, सरसफाई लगायतका न्यूनतम मापदण्डमा थप सुधार भएको बताउनुभयो । अस्पतालले अझै धेरै सेवा सुधार गर्नुपर्ने बताउनुभयो । जनशक्तिको व्यवस्थापन, आइसियु सेवा, पुस्तकालयको व्यवस्था, बिरामी कुरुवा, अस्पतालको आफ्नै एम्बुलेन्स संचालन, भौतिक पूर्वाधारको पर्याप्तता लगायतका पूर्वाधारको थप गर्ने तयारीमा रहेको मेसु अधिकारीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले राप्ती प्रादेशिक अस्पतालले अहिले सेवा सुधारमा गरेको प्रगतिको ध्यानमा राखेर आगामी दिनमा पनि थप सुधार गरेर लैजानुपर्ने बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष पदमराज न्यौपानले अस्पतालको न्यूनतम सेवा मापदण्ड सुधार सबैकौ भूमिका महत्वपूणर् रहेको बताउनुभयो । उहाँले सेवा सुधारमा कर्मचारीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप सुधार गरेर जानुपर्ने बताउनुभयो । २०३३ सालमा हेल्थपोष्टबाट सेवा दिन शुरु गरेको अस्पताल २०७५ सालदेखि प्रादेशिक अस्पतालको रुपमा विकास भएको हो ।
अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत सविता कौशलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अस्पतालका सूचना अधिकारी कृष्णगोपाल चौधरीले गर्नुभएको हो ।