दाङ, २६ मंसिर । दाङमा मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका एक किशोरको उपचारको क्रममा निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ घोरनेटीका १८ वर्षिय सन्दीप वलीको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको हो ।
आइतबार मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका वलीको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
यससंगै मोटरसाइकल दुर्घटनामा मृत्यु हुने संख्या २ पुगेको उहाँले बताउनुभयो । सोहि मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ खमारीका १६ वर्षिय दिपेन्द्र वलीको आइतबार दिउँसो नै मृत्यु भएको होे ।
बनहरीबाट तुलसीपुरतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ प १७१७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो तुलसीपुर-४ को ठुलाखालीमा दुर्घटनामा परेको हो । तीन जना सवार मोटरसाइकल तिब्र गतिका कारण अनियन्त्रित भएर रुखमा ठोक्किएर दुर्घटना भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर-४ कल्लेखोलाका १७ वर्षिय गणेश खड्का घाइते हुनुभएको छ । उहाँको तुलसीपुरको सिटी हस्पीटलमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।


