दाङ, २५ मंसिर । दाङको बबई गाउँपालिकाका विद्यालय काम चलाउ प्रधानाध्यापकको भरमा संचालित छन् । विद्यालयमा कार्यरत स्थायी दरबन्दीका शिक्षक नहुँदा विद्यालय काम चलाउ प्रधानाध्यापकको भरमा चलेका छन् ।
बबई गाउँपालिका-५ बबरपुरमा रहेको जनता माध्यमिक विद्यालयमा पाँच वर्षदेखि निमित्त प्रधानाध्यापकको भूमिकामा रहनुभएका मस्तबहादुर खड्काले मंसिर ७ गते पदबाट राजीनामा दिनुभयो ।
त्यसपछि विद्यालयले सोही दिन सात दिने सूचना जारी गरेर विद्यालयमा कार्यरत स्थायी दरबन्दीका शिक्षकहरुबाट प्रअ हुन चाहनेले निवेदन दिन भनियो तर उक्त विद्यालयमा कार्यरत स्थायी दरबन्दीका शिक्षकहरु प्रधानाध्यापक बन्ने योग्यता पुगेका कोही पनि छैनन् ।
आवेदन प्रअ बन्नका लागि माग गरियो तर शिक्षा ऐनअनुसार माध्यमिक तहको विद्यालयको प्रअ बन्न माध्यमिक तहकै स्थायी नियुक्ति हुनुपर्छ । उक्त विद्यालयमा स्थायी दरबन्दी प्रावि तहको मात्रै छ ।
कार्यरत जनशक्तिका आधारमा निमित्त प्रधानाध्यापक नै नियुक्त हुने बबई गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र वलीले बताउनुभयो । जनशक्ति अभावका कारण बबईका अन्य चारवटा विद्यालय पनि निमित्त प्रधानाध्यापकले नै चलाइरहनुभएको उहाँले बताउनुभयो ।
प्रमुख वलीले मावि तहको स्थायी दरबन्दीका शिक्षकहरु नहुँदा प्रधानाध्यापक नियुक्तिको विषय समस्याकै रुपमा देखिएको बताउनुभयो ।
तहगत प्रधानाध्यापक बनाउने कार्यविधि पास भइसके पनि कार्यान्वयनको सवालमा कार्यपालिका नै बाधक बनेको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले बताउनुभयो । पालिकाका मावि हंसपुरमा चारजना र चरकमटियामा पाँचजना मावि स्थायी दरबन्दीका शिक्षक हुनुहुन्छ ।
उहाँहरुमध्येका शिक्षकलाई अन्य विद्यालयमा स्थानान्तरण गरेर तह गतको प्रधानाध्यापक बनाउने कार्यविधि नै बनाएपनि राजनीतिक आस्थाका कारण कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । नयाँ युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नुभएको छ ।


