सल्यान, २२ मंसिर ।
ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सहजताका लागि सल्यानको कपुरकोट गाउँपालिकाले शनिबार एकीकृत बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
राप्ती लाइफ केयर अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा कपुरकोट आधारभूत अस्पतालमा शिबिरको आयोजना गरिएको हो । शिविरबाट ७४५ जनाले निशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीका अनुसार स्त्री रोग सम्बन्धि १०३ जना, नाक, कान, घाँटी सम्बन्धि १३७ जना, हाडजोर्नी तथा नशारोग सम्बन्धि २०३ जना, मेडिसिन सम्बन्धि २१८ जनाले सेवा लिएका छन् ।
शिविरमा ८४ जनाको ल्याव परिक्षण गरिएको छ भने ३३ जनाको भिडियो एक्सरे र ४ जनालाई भर्ना गरि इमरजेन्सी सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले शिबिरको उद्घाटन गर्नुहुँदै शिविरले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन एकिकृत बृहत नि : शुल्क स्वास्थ्य शिविर गरिएको बताउनुभयो ।
शिविरमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवाहरू प्रदान गरेको हो । स्वास्थ्य समस्याले ग्रस्त रहेका स्थानीय बासिन्दाले निःशुल्क उपचार र औषधि पाएपछि खुसी व्यक्त गरेका छन् ।
यसैबिच आगामी दिनमा पनि स्वास्थ्य उपचार सेवालाई सहज बनाउनका लागि कपुरकोट गाउँपालिका र राप्ती लाइफ केयर अस्पताल प्रालिबिच सम्झौता समेत भएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन र अस्पतालका अध्यक्ष हरि रिजालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पत्रमा आगामी दिनहरुमा कपुरकोटबासी नागरिकहरुलाई कपुरकोट आधारभूत अस्पतालले मासिक त्रैमासिक रूपमा आयोजना गर्ने बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गर्ने र कपुरकोट आधारभूत अस्पतालबाट स्क्रिनिङ वा सिफारिस भएर राप्ती लाइफ केयर अस्पतालमा उपचार गर्न जाने बिरामीहरूलाई उपचार शुल्कमा छुट र अति विपन्नहरूको हकमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने लगायतका विषयहरु समेटिएको छ ।