दाङ, २० मंसिर । दाङमै पहिलो पटक संयुक्त राष्ट्र संघको नमुनाको अभ्यास गरिने भएको छ । तुलसीपुरमा रहेको हिमाल एकेडेमीले नमुना संयुक्त राष्ट्र संघ संचालन गर्न लागेको हो ।
यहि मंसिर २४, २५ र २६ गते तीन दिन नमुना संयुक्त राष्ट्र संघ संचालन हुने प्रधानाध्यापक मुधुसुदन केसीले जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई सैद्धान्तिकमात्रै नभएर प्रयोगात्मक रुपमा नमुना संयुक्त राष्ट्र संघ संचालन गरिन लागेको बताउनुभयो ।
नमुना संयुक्त राष्ट्र संघमा दाङका १० वटै स्थानीय तह रहेका शैक्षिक संस्थाबाट छात्र÷छात्राले सहभागीता जनाउन पाउने भएका छन् । करिब १ सय २० जना प्रतिनिधिको सहभागीतामा नमुना संयुक्त राष्ट्र संचालन गरिने उहाँले बताउनुभयो ।
सहभागी विद्यार्थीले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुको प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो । कक्षा १० देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थी कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
२४ र २५ गते विभिन्न विज्ञले सहभागीलाई विभिन्न ऐजन्डामा प्रशिक्षण दिने र २६ गते ति ऐजेन्डा प्रस्तुत गर्ने उहाँले बताउनुभयो । नमुना संयुक्त राष्ट्र संघमा सुरक्षा चुनौति, मानव अधिकार र महिलाको अवस्थाको बारेमा मूख्य एजेन्डा रहेनछन् ।
विश्वमा महिलाको अवस्थाबारे एलिजा रावत, मानव अधिकारको बारे विवस अधिकारी र सुरक्षा चुनौतिबारे कृष्णा बज्गाँई, राजव पौडेल र आश्वनिका पन्थी प्रशिक्षण दिने प्रधानाध्यापक केसीले बताउनुभयो ।
विद्यालयका छात्रा प्रशांसा केसीले नमुना संयुक्त राष्ट्र संघ महत्वपूर्ण सिकाइ हुने बताउनुभयो । उहाँले कार्यक्रममा सहभागीताका लागि विद्यार्थीलाई आग्रह समेत गर्नुभएको छ । सहभागीताका लागि विद्यालयमा पत्राचार भइसकेको र हिमाल एकेडेमीमा पनि सम्पर्क राख्न सकिने बताउनुभयो ।