२०८१ माघ २ गते बुधवार

तुलसीपुर नगर जेसिजले दियो, बालबालिकालाई न्यानो कपडा

दाङ, २० मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नवजागरण माध्यमिक विद्यालय कुटेचौरका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । तुलसीपुर नगर जेसिजले अक्षयकोष दाता पदम पोखरले ‘जेठु–कान्छु’को सहयोगमा २६ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

चिसो बढ्दै गएको समयमा बालबालिकाको पढाइ प्रभावित हुन नदिनका लागि जेसिजले न्यानो कपडा वितरण गरेको तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णबिक्रम डाँगीले जानकारी दिनुभयो । विद्यालयमा बिहिबार एक कार्यक्रमको आयोजना गरेर शिशु कक्षादेखि ८ कक्षासम्मका अतिविपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष डाँगीको अध्यक्षता तथा तुलसीपुर–१९ का वडा अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण कार्यक्रम गरिएको हो । त्यस अवसरमा वडा अध्यक्ष योगीले न्यानो कपडाले बालबालिकाको पढाइमा सहजता ल्याउने बताउनुभयो ।

उहाँले वडा सरकारले पनि थप बालबालिकाको लागि पनि न्यानो कपडाको व्यवस्था मिलाउने बताउनुभयो । उहाँले न्यानो कपडा वितरण गरिएकोप्रति तुलसीपुर नगर जेसिजलाई धन्यवाद तथा आभार प्रकट गर्नुभयो ।

यस्तै अक्षयकोष दाता पदम पोखरेल ‘जेठु–कान्छु’ले जेसिज सामाजिक क्षेत्रमा सक्रिय रहेको भन्दै न्यानो कपडाले बालबालिकाको पढाइमा सहजता ल्याउने बताउनुभयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक टंक केसीले चिसोका कारण बालबालिका विद्यालय आउन पनि समस्या हुने भएकाले न्यानो पोषकले बालबालिकाको पढाइलाई थप सहजता बनाउने बताउनुभयो ।

कार्यक्रम संयोजक पारस न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष दिपेश भण्डारी, मोहन स्वर्णकार लगायतले मन्तव्य राख्नुभएको हो । जेसिज सदस्य झग्गुप्रसाद सापकोटाको जेसिज आस्थापाठबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस