२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा एचआईभी संक्रमित हुनेमा पुरुषभन्दा महिला धेरै


दाङ, १६ मंसिर । दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्या वर्षेनी बढदै गएको छ । दाङमा २०८० सालमा ४ सय ४ जना एचआइभी संक्रमित रहेकोमा यो वर्ष बढेर ४ सय ३७ पुगेको छ ।

समुदाय स्तरमा पुगेर एचआईभी संक्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा संक्रमितहरु थपिने क्रम बढेको छ । यो वर्ष ३३ जना नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो वर्ष जिल्लामा ४३ जना एचआईभीका नयाँ बिरामी थपिएका थिए ।

यो वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ८५ जना र प्रादेशिक अस्पताल तुलसीपुरको एआरटी सेन्टरबाट १ सय ५२ जना एचआईभी संक्रमितले उपचार गराईरहेका छन् ।

एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरुमा सुईद्वारा लागू पदार्थप्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेश्रो लिंगीहरु र रोजगारीका लागि विदेश गएर फर्किएकाहरु रहेका छन् ।

दुवै एआरटी सेन्टरबाट पहिचान भई औषधि सेवन गरिरहेका एचआईभी संक्रमितहरुमा सबैभन्दा धेरै घोराहीका रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको एआरटी सेन्टरकी काउन्सिलर तारा बिसीका अनुसार, वैदेशिक रोजगारीको सिलसिलामा गएकाहरुमा सबैभन्दा धेरै एचआईभी संक्रमण देखा परेको छ ।

वैदेशिक रोजगारीमा गएर फर्किएकाहरु १ सय ५० जना एचआईभी संक्रमित भएका छन् । यसैगरी, १५ वर्षदेखि माथि उमेर समुहमा १ सय ३७ जना महिला र १ सय २९ जना पुरुष रहेका छन् भने ७ जना अन्य रहेका छन् । यसैगरी, १५ वर्ष मुनि उमेर समुहका ४ जना महिला र ८ जना पुरुष रहेका छन् । जसमध्ये १५ जना यौनकर्मी, २३ जना पुरुष समलिंगी, ५९ जना आप्रवासी कामदार, ७ जना अन्य र ३१ जना आमाबाट बच्चामा सरेका रहेका छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको एआरटी सेन्टरबाट पहिचान भएका १ सय ५२ जनामा तुलसीपुरका सबैभन्दा धेरै छन् । तुलसीपुरका ८३ जना, शान्तिनगरका १५ जना, बबईका २३ जना, दंगीशरणका १० जना, लमहीका २ जना, घोराहीका १० जना, जिल्ला बाहिरका ९ जनाले उपचार सेवा लिईरहेका एआरटी काउन्सिलर प्रमिला लामिछानेले जानकारी दिनुभयो ।

शंकास्पद, यौन गतिविधिमा बढी हुनेको निगरानी बढाएको हुँदा पछिल्लो समय जिल्लामा एचआईभी संक्रमित पहिचानदेखि उपचारसम्मको व्यवस्था हुने गरेको नेपाल परिवार नियोजन संघ दाङका प्रबन्धक बसन्त खनालले बताउनुभयो । रोगको जोखिम कम गर्न सुरक्षित यौन सम्पर्क, कन्डम वितरण, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउने काम गर्दै आएको उहाँले बताउनुभयो । आजको राप्ती पोष्ट दैनिकमा छवि पुरीले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस