२०८१ माघ २ गते बुधवार

विद्यार्थीलाई ज्ञानसँगै सीप नदिँदा विदेश पलायन बढ्यो : खनाल

दाङ, १५ मंसिर । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विश्वविद्यालयको शिक्षामा ज्ञानसँगै सीप नहुँदा विद्यार्थीहरु विदेश जाने क्रम बढेको बताउनुभएको छ ।

उहाँले ज्ञान,सीप र उद्यमशिलतालाई सँगै जोडेर लैजानुपर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले विश्वविद्यालयहरुले पाठ्यक्रम परिमार्जन गरेर विद्यार्थीहरुलाई उद्यमशिल बनाउनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

तुलसीपुर मेट्रो कलेजले लुम्बिनीमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री खनालले प्राविधिक शिक्षाको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

कलेजमा भर्ना भएका बिएएलएलबी, बिबिए र बिएचटिएमका विद्यार्थीहरुका लागि आयोजना गरिएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयले प्राविधिक शिक्षालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

उहाँले विद्यार्थीहरुलाई पढ्दापढ्दै विभिन्न खालको अवसर सृजना गर्ने गरी विश्वविद्यालयले कार्यक्रम सञ्चालन गरेको पनि बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाण्डेले विद्यार्थीहरुले ज्ञान र सीप दुवै कुरालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले कागजी उपलब्धिका साथै सीप पनि भएमात्रै सीकाइ पूर्ण हुने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस